|

काठमाडाैं : युरो कप फुटबलको १६ औँ संस्करणअन्तर्गत आज राति दुई खेल हुँदै छ।

समूह चरणअन्तर्गत आज राति समूह ‘ए’ का दुई खेल हुन लागेको हो। घरेलु मैदान स्टेडियो ओलम्पिकमा हुने खेलमा इटालीले वेल्सको सामना गर्न गर्दै छ।

यी दुई टिम बीचको खेल राति पौने १० बजे सुरु हुनेछ। लगातार तेस्रो जित निकाल्दै इटाली समूह विजेताका रुपमा आफूलाई शीर्ष स्थानमा कायम राख्न चाहन्छ।

अघिल्ला दुई खेलमा उत्कृष्ट जित निकालेको इटाली यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ। आफ्नो पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको उसले दोस्रो खेलमा स्विजरल्याण्डलाई समान ३–० गोलले नै पाखा लगाएको थियो।

इटालीले २ खेलमा स्पष्ट ६ अंक जोडेको छ। इटालीलाई यसपटक युरोकपको उपाधि दाबेदारमध्ये एक मानिएको छ। उच्च लयमा रहेकाले इटाली आजको खेलमा पनि जित निकाल्नेमा विश्वस्त छ।

इटालीविरुद्ध मैदान उत्रन लागेको वेल्सका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ। इटालीलाई पराजित वा बराबरी गर्न सके वेल्स नकआउट चरणमा पुग्नेछ। तर इटालीसँग पराजित भएमा वेल्सको अर्को चरणको यात्रा भने स्विट्जरल्याण्ड र टर्कीबीचको खेलमा भर पर्छ। 

वेल्सविरुद्ध इटालीको उत्कृष्ट रेकर्ड छ। दुई टोलीबीच भएका कुल नौ खेलमध्ये इटालीले सात खेलमा जित निकाल्दा वेल्सले मात्र दुई खेल आफ्नो पक्षमा पारेको छ।

एक खेलमा जित र एक खेल बराबरी खेलेको वेल्स ४ अंकका साथ समूहको दोस्रो स्थानमा छ। वेल्सले पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले हराउन सफल भएको थियो। 

यसै समूहको आज हुने अर्को खेलमा स्विट्जरल्याण्ड र टर्की आमनेसामने हुनेछन्। अजरबैजानको बाकुमा हुने यी दुई टिमबीचको खेल राति पौने १० बजे नै सुरु हुनेछ।

दुवै टिम आज पहिलो जितको खोजीमा रहेका छन्। स्विट्जरल्याण्ड पहिलो जित निकाल्दै नकआउट चरणको सम्भावना बलियो बनाउन चाहन्छ। पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्याण्ड दोस्रो खेलमा इटालीसँग ३–० गोलले पराजित भएको थियो।

तेस्रो स्थानमा स्विट्जरल्याण्डको १ अंक छ। यस्तै टर्की आज पहिलो जितका साथै पहिलो अंकको खोजीमा छ। समूहको पुछारमा टर्कीले दुई खेल खेलिसक्दा १ अंक पनि बटुल्न सकेको छैन। पहिलो खेलमा इटालीसँग हार बेहोरेको टर्की दोस्रो खेलमा वेल्ससामु निरीह बन्न पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.