|

सिन्धुपाल्चोक : विनाशकारी भूकम्प, जुरे पहिरो र भोटेकोसी बाढीले तहसनहस भएको नेपाल चीन बीचको ठूलो व्यापारिक तातोपानी नाका छिट्टै खुल्ने संकेत देखिएको छ। तातोपानी नाकाको विषयमा पटक–पटक बैठक बस्दासमेत चिनियाँ पक्षले आश्वासन मात्र दिएको भए पनि प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि नाका अबको महिना दिनाभित्रमा खुल्ने संकेत देखिएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल बताउँछन्।

‘प्रधानमन्त्रीको भ्रमणको क्रममा पनि नाका खोल्न चिनियाँ पक्ष आँतुर रहेको बताइएको छ । त्यसैले अब तत्काल नाका खुल्छ।’ प्रजिअ सिलवालले भने। नाका नखुल्दा नाकासँग आश्रित हजारौं स्थानीय, व्यापारी, व्यवसायी र मजदुरको रोजिरोटी खोसिएको छ भने नाका बन्द हुँदा मुलुकले अबौंको राजस्व घाटा व्यहोरिरहेको छ। जुरे पहिरोबाटै ठप्प भएको नाका तीन वर्ष बित्नै लाग्दासमेत सुचारु हुने छाँटकाँट नदेखिँदा नाकासँग आश्रित भएकाहरुको जनजीवन कष्टकर बनेको छ।

नाकाबन्द भएपछि यो अवधिभर तातोपानीबाट झन्डै १५ अर्ब राजस्व घाटा व्यहोरिरहेको उक्त नाकाका भन्सार प्रमुख दिव्यराज पोखरेल बताउँछन्। जुरे पहिरोपछि २०७२ बैसाखसम्म ६ अर्ब र भूकम्पपछि ८ अर्बभन्दा बढी राजस्व घाटा व्यहोर्नुपरेको हो। दैनिक भीडभाड रहने सीमा क्षेत्र अहिले सुनसान छ। ‘आफ्नै ठाउँ विरानो लाग्न थालेको छ’, स्थानीय सोनाम शेर्पाले पीडा पोखे।

नाकबन्द भएपछि व्यवसायमा संलग्न र मजदुर गरी ५ हजार जनशक्ति मारमा परिरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष बुद्धराज बस्नेत बताउँछन् । सयौंको संख्यामा कन्टेनरहरु थन्किएर बसेको उनको भनाइ छ।

नाका क्षेत्रमा भीरपाखा बढी छ। उक्त भीरपाखामा खेती गरीखाने जग्गा छैन। नाका नखुल्दा उनीहरुलाई निकै समस्या भएको स्थानीय बताउँछन्। ‘दैनिक कसरी छाक टार्ने भन्ने चिन्ताले सताउँछ’, नाकामा भरियाको काम गर्दै आएकी फुल्मु शेर्पा भन्छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.