|

इलाम : नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनका लागि स्थानीय तहको चुनाव अपरिहार्य रहेको बताएका छन्।

रत्न बम प्रतिष्ठानको आयोजनामा देउमाई नगरपालिका–१ चित्रेमा सहिद रत्नकुमार वान्तवा र बमकुमार बान्तवाको शालिक अनावरण र सामुदायिक भवनको उद्घाटन गर्दै उनले तीन तहको निर्वाचनपछि देशले कोल्टे फेर्ने दावी गरे। नेता नेम्वाङले संविधान कार्यान्वयनको चरणमा रहेकाले जस्तोसुकै चुनौती देखापरे पनि कार्यान्वयन भइछाड्ने बताए।

एमालेका महासचिव ईश्वर पोखरेलले सहिद रत्नकुमार बान्तवा र बमप्रसाद बान्तवाको योगदानले एमाले माथि उठेकाले उनीहरुको कदर हुनुपर्नेमा जोड दिए। बान्तवाले सुरु गरेको आन्दोलन समाप्त नभएकाले यसलाई अघि बढाउने अभिभारा एमालेको भएको बताए। उनले रत्न बान्तवाबाट निष्ठाको पाठ सिकेर अघि बढ्न आग्रह गरे।

सोही समारोहमा रत्नबम प्रतिष्ठानले सहिद परिवारका राममाया राई, सहयोद्धा महेश बान्तवा, रत्न बान्तवाकी दिदी देउकला राई, अगमप्रसाद बान्तवा, बमप्रसादका भाई देउप्रसाद बान्तवा, निर्मा शेर्पा र शालिक निर्माण गर्ने बिष्णु प्रसाद श्रेष्ठलाई सम्मान गरेको थियो। कार्यक्रममा सम्मानित नेकपा एमाले अनुशासन आयोगका सदस्य अगमप्रसाद बान्तवाले रत्नकुमार बान्तवालाई सरकारले सहिद घोषणा गरेपनि बमप्रसादलाई सहिद घोषणा नगरिएकोमा दुःख व्यक्त गरे।

 २००८ साल चैत्र २७ गते जन्मिएका रत्नकुमार बान्तवालाई २०३५ साल चैत्र २७ गतेकै दिन तत्कालिन पञ्चायत सरकारले इभाङको जंगलमा गोली हानी हत्या गरेको थियो भने बमप्रसाद बान्तवालाई २०३६ साल बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरिएको थियो।

रत्नकुमार बान्तवाको हत्या गरिएको ३७ बर्षपछि २०७२ सालमा सरकारले सहिद घोषणा गरेको थियो। रत्नबम प्रतिष्ठानले कार्यक्रमको आयोजना गरी उनीहरुलाईघ सम्झिएको थियो। रत्न बान्तवाको निवासस्थल चित्रेमा निर्माण गरिएका सहिद स्मृति भवनमा रत्नका लेख र कृतिहरुलाई समेटेर पुस्तकालय बनाइने प्रतिष्ठानका अध्यक्ष डा देवी क्षेत्री दुलालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.