एसोसिएटका धेरै उम्मेदवार ठूला घरानाबाटै

|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष तथा एसोसिएट सदस्यहरुको ध्यान ठूला घरानातर्फ छ। महासंघको ८० प्रतिशत सदस्य रहेको एसोसिएटको मत केही व्यापारिक घरानामा सीमित भएका कारण उम्मेदवारहरुको ध्यान त्यतातर्फ देखिएको छ।

अधिवेशनमा मतदान गर्ने कुल १०८८ मतदातामध्ये ८५१ मत एसोसिएट सदस्यहरुकै छ। त्यसैले वरिष्ठ उपाध्यक्ष र एसोसिएटतर्फका केन्द्रीय सदस्यका उम्मेदवार भोट आफूतर्फ तान्न केन्द्रित छन्। यद्यपी वरिष्ठ उपाध्यक्षमा भने एसोसिएट सदस्यको मतभार जम्मा ३० प्रतिशत मात्र रहन्छ।

एसोसिएटमा कमै मात्र सिंगल भोट छन् भने अधिकांश भोट ठूला घरानामा छन्। एउटै व्यक्तिले चाहदा पनि ३०/४० भोट तलमाथि पार्न सक्ने भएकोले वरिष्ठ उपाध्यक्षका साथै एसोसिएट सदस्यहरुको ध्यान ठूला घरानामा देखिएको हो। 'एक उद्योग वा कम्पनी बराबर एक सदस्यता दिने प्रावधान छ, ठूला घरानाका ३०/४० वटासम्म सहायक कम्पनीले महासंघको सदस्यता लिएका छन्' महासंघका निर्देशक हंसराम पाण्डेले थाहाखबरसंग भने।

वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र किशोर प्रधानको उम्मेदवारी परेको छ। तीमध्ये एक जना निर्वाचित हुन्छन्। निर्वाचनमा एसोसिएटबाट ७५ प्रतिशत भोट ल्याउने उम्मेदवारलाई जिल्ला नगर र वस्तुगततर्फबाट २०/२० प्रतिशत भोट पाए पनि जित सहज हुन्छ। त्यसैले वरिष्ठ उपाध्यक्ष छनोटमा ठूला घरानाको महत्वपूर्ण भूमिका हुनेगर्छ।

१५ घरनासंग ३०० भोट

देशका प्रमुख १५ वटा औद्योगिक तथा व्यापारिक घरानासँग महासंघको एसोसिएट सदस्यमध्ये झण्डै ५० प्रतिशत मत छ। ८५१ वटा एसोसिएट सदस्य रहेकामा तीन सय भन्दा बढी सदस्य १५ वटा घरानामा सीमित छन्। आइएमई, शंकर, त्रिशक्ति, गोल्छा र त्रिवेणी ग्रुप धेरै मत ओगटेका औद्योगिक तथा व्यापारिक घराना हुन्। त्यस्तै पञ्चकन्या, ज्योति, लक्ष्मी, लोमस, वैद्य, खेतान, शारडा, सिप्रदी र एनई ग्रुप पनि धेरै मत भएका घरानामा पर्छन्। 

ढकाल, प्रधान र अग्रवालसंग मात्रै सय भोट

आइएमई ग्रुपका चन्द्र ढकाल, शंकर ग्रुपका शाहिल अग्रवाल र त्रिशक्ति ग्रुपका ज्ञानेन्द्रलाल प्रधानसंग मात्रै झण्डै एक सय मत छन्। महासंघ सचिवालयका अनुसार यी तीन कम्पनीसंग ३०/३० भन्दा बढी सदस्यता रहेका छन्। 'सबै ठूला उद्योगीले आफ्नो नाममा कम्पनी दर्ता गरेका हुदैनन्, श्रीमती, छोरा, छोरीको नाममा समेत कम्पनी दर्ता हुने भएको कारण एक्ज्याक्ट तथ्यांक दिन सकिदैन, महासंघबाट सदस्यता लिएकामध्ये धेरै कम्पनी यिनै तीन समुहका रहेका छन्' नेपाल उद्योग वाणिज्य महासंघका एक कर्मचारीले भने। 

अरु कोसँग कति भोट?

महासंघका एसोसिएट सदस्यका रुपमा रहेका अन्य १२ घरनासँग पनि धेरै भोट रहेका छन्। जस अनुसार गोल्छा, संघाई, लक्ष्मी ग्रुपसंग २५/२५ भन्दा बढी सदस्यता रहेको महासंघ सचिवालयले जनाएको छ। त्यस्तै लोमस, ज्योति, पञ्चकन्या, चौधरी, खेतान, शारडा सिप्रदी, टीएसएन ग्रुप र एनई ग्रुपसँग पनि एक घराना अनुसार १५ भन्दा बढी सहायक कम्पनी महासंघको एसोसिएट सदस्य रहेका छन्। 

ठूला घरानाका को को छन् उम्मेदवार?

महासंघको निर्वाचनमा ठूला घरानाका आ–आफ्नै उम्मेदवार रहेका छन्। ठूलो घरानामध्येको गोल्छा अर्गनाइजेसनबाट शेखर गोल्छा वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन्। त्यस्तै सबै भन्दा बढी सदस्यता रहेको आइएमई ग्रुपबाट चन्द्र ढकालले एसोसिएट तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। उनी त्यस पदमा निर्विरोध छन्। त्यस्तै त्रिशक्ति ग्रुपबाट ज्ञानेन्द्रलाल प्रधानले एसोसिएट तर्फको सदस्यमा उम्मेदवारी दिएका छन्। शेखर गोल्छाको ग्रुपबाट उम्मेदवारी दिएका उनले कोषाध्यक्षमा जानको लागि सदस्य निर्वाचित हुनुपर्ने भएकोले एसोसिएटबाट उम्मेदवारी दिएका हुन्।

त्यस्तै लोमस ग्रुपबाट प्रवलजंग पाण्डे, टीएसएन ग्रुपबाट भरत आचार्य र ज्योति ग्रुपबाट सौरभ ज्योतिले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। पञ्चकन्या ग्रुपबाट उदीप श्रेष्ठ र त्रिवेणी ग्रुपबाट रामचन्द्र सांघईले पनि उम्मेदवारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.