|

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध नेपाली बलर चम्किएपछि जितका लागि सामान्य लक्ष्य पाएको हो। ओमानले ३७ ओभरमा अलआउट हुँदै १ सय २१ रनमात्र बनाउन सक्यो। ओमानका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाए।

यस्तै ओपनर जतिन्दर सिंहले १३, नसिम खुशी १२, सन्दीप गोउड ८ रनमा पेभेलिएन फर्किए। नेपालका करन केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए। यस्तै शरद भेषावकरले २ विकेट झारे।

लिग–२ को सिरिज अन्तर्गत नै २०२० को फेब्रअरीमा भएको दुई खेलमा ओमानले नेपाललाई हराएको थियो। ओमानविरुद्धको आजको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो।

४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मा मात्र जित निकालेको छ। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ।

ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा छ। लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाइमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्। नेपाल केहिबेरमा जवाफि ब्याटिङमा उत्रदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.