|

  • बिदुर कटुवाल

उदयपुर : एक सातादेखि उदयपुरको वनमा लागेको डढेलोका कारण सयौं हेक्टर वन सखापभएको छ। गर्मी याम सुरु भएसँगै सदरमुकाम नजिकैको चुरे जंगल, राष्ट्रिय वन र सामुदायिक वन क्षेत्रका तीन दर्जन हाराहारी ठाउँमा डढेलोले जंगल विनाश गरिरहेको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ। 

सदरमुकामदेखि दक्षिण–पश्चिमी भेगको चुरे जंगलमा लागेको डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालय लागिरहेको कार्यालयका सूचना अधिकारी लालबाबु यादवले बताए। ‘डढेलो नियन्त्रण गर्न वन कर्मचारी र सामुदायिक वन समूहका मानिस परिचालन गरिएको छ’, यादवले भने, ‘जिल्ला भरी लागेको डढेलोको कारण हप्ता दिन भित्र पाँच सय हेक्टरभन्दा बढी वन क्षेत्रफल सखाप भएको छ।’

सदरमुकाम छेउकै चप्पन सामुदायिक वन, असारीभन्दा माथिको राष्ट्रिय वन र हडियासँग जोडिएको ज्यामिरे सामुदायिक वनलगायत जंगल क्षेत्रमा पनि डढेलो फैलिएको छ। तपेश्वरी, सुन्दरपुर र जोगीदहका जंगलमा पनि ६ ठाउँमा डढेलो लागेको छ।

कटारी क्षेत्रमा पर्ने राष्ट्रिय चुरे वन सामुदायिक वन उपभोक्ता समूहको वनमा समेत डढेलो फैलिएको छ। डढेलो लागेको क्षेत्रमा सामुदायिक वन समूहलाई साथमा लिएर वनको आगो नियन्त्रणमा लिन मताहतका सेक्टर, इलाका र रेञ्ज पोष्टहरूलाई निर्देशन दिएको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ। ‘यसबीचमा हल्का वर्षा भए डढेलो नियन्त्रणमा आउने हुने थियो,’ सूचना अधिकारी यादवले भने, ‘दिन-प्रतिदिन सुख्खा मौसम भएकाले डढेलो नियन्त्रण गर्न समस्या भएको छ।’ 

डढेलोले बस्ती नै जोखिममा
डढेलोले रुख विरुवा विनाशसँगै वन नजिकका गाउँ बस्तीमा आगलागीको खतरा बढेको छ। त्रियुगा, कटारी, चौदण्डी लगायतका वन क्षेत्रमा रहेका बस्तीहरु जोखिममा परेका हुन्। ‘वनमा डढेलो लागेको छ हावाहुरीले आगो उढाएर ल्याउने होकी भनेर रात भर डढेलो हेरेर बस्नु परेको छ।’ सामुदायिक वन समूहका पदाधिकारी प्रति आक्रोस कटारी नगरपालिकाका भुवन कार्कीले भने, ‘वनको रुख काटेर बेच्ने बेलामा हानाथाप गर्ने वन समूहका पदाधिकारीहरुले डढेलो नियन्त्रण गर्न वास्ता गर्दैनन्।’

पूर्वी क्षेत्रबाट लागेको डढेलो नियन्त्रणको प्रयास नहुँदा रामपुर, बेल्टार, कटारी, मुर्कुची बजार आसपासका सामुदायिक तथा राष्ट्रिय बन क्षेत्रका बस्ती समेत डढेलोको जोखिमा परेका छन्। बस्ती नै जोखिममा परेकाले डढेलो नियन्त्रमा जिल्ला वन कार्यालय निरन्तर रुपमा उपभोक्ता लगायत अन्य जनशक्ति परिचालन गरेर लागि परेको वन कार्यालयका सूचना अधिकारी लालबाबु यादवले बताए। ‘जहाँ बस्ती जोखिममा परेको छ,’ यादवले भने, ‘त्यहाँ रहेका वनका सबै युनिट प्रयोग गर्नुको साथै अन्य थप जनशक्ति समेत परिचालन गरेर लागि परिरहेका छौं।’

कसरी लाग्छ वनमा डढेलो ?    
डढेलो लगाएपछि वन नयाँ घाँस उम्रिने विश्वासमा सर्वसाधरण वनमा डढेलो लगाउने गर्छन्। जनचेतनाको कमीका कारण स्थानीयले लागाउने आगोे हुरीका कारण फैलेर वन सखाप पर्ने गरेको छ। यसरी लग्ने डढेलोले बस्ती पुग्दा जनधनको क्षति हुने गरेको छ। ‘नया घाँस पलाउने मान्यताका कारण घाँसे, दाउरे र गोठालाहरूले डढेलो लगाउने गर्छन्’, त्रियुगा नपा १३ का स्थानीय गायत्रा काफ्लेले भनिन्, ‘डढेलोका कारण अमूल्य जडिबुटी, बोटबिरुवाका नष्ट हुने गरेको छ।’ 

सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र ठेकेदार समेतको मिलेमतोमा  डढेलो लगाउने गरेको स्थानीयबासीको अारोप छ। ‘वनमा डढेलो लगाएपछि वनका रुख मर्ने भएकाले त्यसलाई बिक्री गर्न पाइन्छ।’ नेपालटारका स्थानीय बोधकुमार सार्कीले भने, ‘त्यसको लागि ठेकेदार र वनका पदाधिकारी मिलेर ढडेलो लगाउँछन्।’ डढेलो लगाउनेको पहिचान गरी कारवाही गरेको अहिलेसम्म नसुनिएकाे उनी बताउँन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.