|

भक्तपुर : भक्तपुरको बोडेगाउँमा शनिबार बिहान १० बजेदेखि नै बाजागाजाको रौनकता थियो। साथमा केशरी रंगमा रंगिएको थियो पूरै गाउँ। जसै समयले दिउँसोको संकेत गर्दै थियो उसै बोडेगाउँवासी घरबाहिर निस्कन लागेका थिए। झोलामा केशरी रंग, हातमा झ्याली र गलामा धिमे भिरेर उनीहरु टोलटोल घुमिरहेका थिए। समय अवसर थियो जिब्रो छेड्ने जात्राको।

प्रतीक्षा बुद्धकृष्णको

दिउँसो सवा २ बजे। बोडे गाउँको गणेश मन्दिर अगाडिको चोकमा रंगले रंगिएका र अलिअलि रंग लाग्‍न बाँकी मान्छे भरिभराउ थिए। त्यो भीडमा पटक पटक 'आयो आयो' भन्दै बाटो हेरिरहेको थियो। त्यो प्रतीक्षा थियो जिब्रो छेडाउने बुद्धकृष्ण बाग श्रेष्ठको। उनलाई विशेष पोसाकसहित शृङ्गार गरेर जिब्रो छेडाउने ठाउँमा ल्याएका थिए यसअघि जिब्रो छेडाउँदै आएका जुजुभाइ बाग श्रेष्ठ लगायतले। निगालोको कप्टेरोबाट आवाज निकाल्दै बाटो खालि गराउने युवाहरुले बुद्धकृष्णलाई गणेश मन्दिर अगाडि बनाइएको जिब्रो छेड्ने ठाउँसम्म बाटो खालि गराए।

मञ्चमा पूजापाठका सामग्री तयार भइसकेको थियो। अलिपर भित्तामा चन्द्राकारको महादीप ठड्याइएको थियो। लगत्तै जिब्रो छेड्ने सियो पनि ल्याइयो। नकर्मी नाइकेले ठीक एक महिनाअघि बनाएर तेलमा डुबाराखेको सियो थियो त्यो, जसको लम्बाई १० इन्च थियो।

बुद्धकृष्णलाई तयार पार्दै गए जुजुभाइ, बुद्धकृष्णका दाइ कृष्णचन्द्र बाग श्रेष्ठ, माइला भासिङ्क लगायत। बुद्धकृष्णका दाइले केही पूजाका प्रसाद उपस्थित भीडतिर छर्किए। दुवै दाजुभाइले सबैलाई नमस्कार गरे। बुद्धकृष्णले छोरालाई अँगालोमा हालेर सबैतिर हेरे। त्यसपछि सुरु भयो जिब्रो छेड्ने कार्यक्रम।

भाइको जिब्रो दाइले छेडे

जिब्रो छेड्न हातमा सुइरो लिएर तयार भएका थिए बुद्धकृष्णका दाइ कृष्णचन्द्र बाग श्रेष्ठ। कृष्णचन्द्रले सुइरोलाई पूजा गरे, बुद्धकृष्णको टाउकामा सुइरोले छोए। अनि सुरुमा टाउकोमा बाँधेको फेटामा सुइरो छिराए। त्यसपछि भाइ बुद्धकृष्णलाई जिब्रो बाहिर निकाल्न लगाए। जिब्रोमा नदुख्ने औषधी लगाए। सुइरोले जिब्रोको औषधी लगाएको भागमा छोए। उनको हात हल्का काँपिरहेको थियो। हुनत उनले यसअघि पनि १२ वर्षसम्म जिब्रो छेडेर जात्राको रीत धानेका थिए।

सुरुमा बुद्धकृष्णका आँखा खुला थिए। जसै सुइरोले जिब्रोलाई वारपार गर्न लाग्यो उनलाई दुखेको कुरा उनका आँखाले बताइरहेका थिए। बुद्धकृष्णले आँखा चिम्म गरे। कृष्णचन्द्रले सुईलाई जिब्रोको वारपार भएको संकेत गरेपछि मात्र बुद्धकृष्णले आँखा खोले। उनका आँखा हलुका रसाएका थिए।

जिब्रोमा सुईले छेडेपछि बुद्धकृष्णले उपस्थित सबैतिर फर्केर अभिवादन गरे। उपस्थित मान्छेहरु तालि पिट्न र बुद्धकृष्णको बहादुरीलाई क्यामेरामा कैद गर्न व्यस्त भए। उनीहरु भन्दै थिए, 'कसरी सकेको होला जिब्रो छेड्न, कस्तो दुख्यो होला है!'

बुद्धकृष्णले यो वर्ष जिब्रो छेडेर वर्षौंदेखि बोडेगाउँमा चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिएका थिए। त्यसपछि उनले चन्द्राकारको महादीप बोकेर बोडेका विभिन्न शक्तिपीठ परिक्रमा गरे। अन्तिममा महालक्ष्मी भैरवनाथ मन्दिर वरपर तीन फन्का घुमेर गणेश भगवानलाई साक्षी राख्दै जिब्रोमा रहेको सुइरो निकाले। सुइरो निकाल्ने व्यक्ति थिए उनका दाइ नै, कृष्णचन्द्र बाग श्रेष्ठ। सुइरो मन्दिरको काठमा राखिएको थियो। जिब्रोबाट सुइरो बाहिर निकालेपछि एकफन्का मन्दिरलाई घुमेर बुद्धकृष्णले दाइ र छोराहरुलाई सँगै राखेर तस्बिर खिचाए। उनले जिब्रोलाई भने दाँतले च्यापेर राखेका थिए। केही भन्नुपरे टाउकाले संकेत गरिरहेका थिए।

को हुन् बुद्धकृष्ण?

बुद्धकृष्ण पेसाले एम्बुलेन्स चालक हुन्। उनको बसाइँ बोडेगाउँस्थित खाँसीटोलमा छ। ४५ वर्षीय बुद्धकृष्णले यसअघि २०६२ देखि २०६५ सालसम्म जिब्रो छेडाएका थिए। उनको परिवारबाट यसअघि उनका दाइ कृष्णचन्द्रले पनि जिब्रो छेडाएर बोडेको प्रसिद्ध परम्परालाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।

के हो जिब्रो छेड्ने जात्रा?

भक्तपुरको बोडेमा प्राचीन कालदेखि नै जिब्रो छेड्ने जात्रा मनाइँदै आएको छ। अहिले पनि वृद्ध वृद्धहरु आफ्नो बाल्यकालदेखि नै यो जात्रा देख्दै र मनाउँदै आएको बताउँछन्। माइला भासिङ्क भन्छन्, 'वर्षौंदेखि यो जात्रा मनाउँदै आएका छौं, मेरा बाजेहरुले यो जात्राबारे सुनाउनुहुन्थ्यो।'

यो जात्रा बोडेको इतिहास, धर्म र संस्कृतिसँग जोडिएको छ। बोडेको प्रचलित किंवदन्तीअनुसार जिब्रो छेड्नुको कारण प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा बाउचा (कङ्काल) ले बोडेमा अशान्ति मच्चाएको थियो।

बोडेमा पिचासले दुख दिएको थाहा पाएर ताान्त्रिक भीमदत्त आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो थापी पिशाचलाई पासोमा पारेर जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडेका टोलभरि घुमाएपछि यो जात्राको परम्परा बसालिएको हो। यो जात्रा मनाएपछि बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने विश्वास छ।

जिब्रो छेड्ने जात्राका थप फोटोहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.