|
Photo : www.thesun.co.uk

नयाँ राष्ट्रपति चयनका लागि फ्रान्समा आइतबार मतदान हुँदैछ। विदेशमा रहेका फ्रान्सेली मतदाताले शनिबार नै मतदान गरिसकेका छन्। विदेशमा रहेर मतदान गर्नेमा १० लाख मतदाता रहेको बीबीसीले उल्लेख गरेको छ।

आइतबार हुने मतदानका लागि फ्रान्समा कडा सुरक्षा बन्दोबस्त गरिएको छ। चुनावको सुरक्षाका लागि देशभर ५० हजार प्रहरी र ७ हजार सेना परिचालन गरिएको छ। तीन दिनअघि मात्र पेरिसमा आइएस लडाकुले प्रहरीमाथि गोलाबारी गरेको थियो।

फ्रान्सको राष्ट्रपतिका उम्मेदवारहरु : फोटो- रोयटर्स


राष्ट्रपतिका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ५ उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। मैरीन ल पेन, इमानुएल मैक्रो, फ्रांस्वा फियो, लुक मेलाशो, बेनवा एमो प्रमुख उम्मेदवार हुन्। यी उम्मेदवारबाट भावी राष्ट्रपति चुन्न फ्रान्सेली जनताले स्थानीय समयअनुसार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान गर्नेछन्।

यसअघि सबै उम्मेदवारहरुले देशभरी चुनावी र्‍याली गरेका थिए। राष्ट्रपतीय चुनावमा बेलायत झैँ युरोपीयन यूनियनबाट बाहिरिनेदेखि आप्रवासन नीति, आर्थिक अवस्था र राष्ट्रियताबारे व्यापक बहस भएको छ।

पहिलो चरणको मतदानमा ११ उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याए बढी मत ल्याउने दुई उम्मेदवारबीच पुन: प्रतिस्पर्धा हुनेछ। फ्रान्समा राष्ट्रपति चयनका लागि ५१ प्रतिशत मत ल्याउनै पर्ने अवस्था छ। दोस्रो चरणको चुनाव गर्नुपरे ७ मेमा मतदान हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.