|

लहान : विश्व बैंकको आर्थिक सहयोगमा जिल्ला प्राविधिक कार्यालय सिरहाद्वारा सञ्चालित राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम ९क्ल्च्त्ए० अन्तरगत सिरहा– सुखीपुर सडक निर्माण सुचारु भएको छ।

सिरहा जिल्ला सदरमुकामस्थित ट्राफिक चोकबाट सागरपुर, बङ्गठिया, लक्ष्मीपुर, गौरीपुर लरकन्हा, दहीपौडी हुँदै सुखीपुरसम्म जोड्ने उक्त सडक १८ करोड १० लाख ६६ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सडक निर्माणमा संलग्न इञ्जिनियर सुशील साहले जानकारी दिए। पूर्व–पश्चिम सडक हुँदै करिब ४० किलोमिटर दूरी छिचोलेर जिल्ला सदरमुकाम जान बाध्य जिल्लाका मध्यवर्ती भेगका बासिन्दालाई उक्त सडक निर्माणपछि जिल्ला सदरमुकाम आवतजावत गर्न आधा दूरी कम हुनेछ। निर्माणाधीन उक्त सडक कुल १९ किलोमिटर लम्बाइ र ६ मिटर चौडाइ रहेको छ।

सडक निर्माण पूरा भएसँगै त्यस भेगका हजारौं जनता लाभान्वित हुने सुखीपुर दहीपौडीका शिवनन्दन यादवले बताए। सिरहा गौरीपुरकी रामकुमारी महतोले सडक नहुँदा ग्रामीण भेगका गर्भवती महिलाले प्रसूतिका लागि तत्काल स्वास्थ्य संस्थासम्म जान भोग्नुपरेको कठिनाइ हट्ने बताइन्। ‘बाटो नभएर समयमै दमकल नआउँदा आगलागीबाट हुने जनधनको क्षति पनि घट्ने छ’ महतोले भनिन्।

स्थानीय रामकुमार सिंहले भने, ‘बाटोको असुविधा हुँदा दुःख गरेर उब्जाएको कृषिजन्य वस्तुलाई बजारसम्म पुर्‍याउन कठिनाइ थियो, लागत रकमसमेत उठाउन चर्को थियो, सडकले स्थानीय किसानको आर्थिक अवस्था पनि उकासिने छ।’ वर्षात्को समयमा घर बाहिर निस्कनसमेत समस्या झेलिरहेका स्थानीय बासिन्दालाई ठूलो र चौडा सडक बन्न थालेपछि सजिलो हुने गाउँलेहरु बताउँछन।

निर्माणाधीन सिरहा सुखीपुर सडक ए.एम.आर.रपप्पु कन्सट्रक्सन जेभीले ठेक्का सम्झौताअनुसार पछिल्लो माघमै सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीको लापरबाहीले काम ढिलो भएको जिल्ला प्राविधिक कार्यालय सिरहाका डिभिजनल इञ्जिनियर पशुपति साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.