|

रुकुम: रुकुममा शुक्रबार अपराह्न जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्लाको आठविसकोट नगरपालिका– १४ पीपलचौरमा ग१ज २०६ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र ११ जना घाइते भएका प्रहरीले जनाएको छ।

घटनामा चौरजाहारी नगरपालिका– ८ का एक वर्षका श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षका कुमबहादुर बस्नेत र अर्का एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ। एक जना मृतकको अझै परिचय खुल्न नसकेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए। 

आठविसकोट नगरपालिका– १४ छेपारेबाट सोही ठाउँको चिसापानी जाँदै गरेको जिप दुर्घटना भएको हो। क्षमताभन्दा धेरै यात्रु बोकेको र बाटो साँघुरो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

१९ जना यात्रु सवार जिप सडकभन्दा करिब १५० मिटर तल ठूलोभेरी नदीमा खसेको थियो। घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोट र केहीलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको बताइएको छ। जिपचालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.