|

मनाङ : हिमाली जिल्ला मनाङमा पुल निर्माण गर्ने ठेक्का पाएको ठेकेदारले ६ वर्षसम्म पनि निर्माण नगरेपछि स्थानीयवासी आफैंले काठको पुल बनाएका छन्।

६ वर्षअघि असारमा द क्याराभान कम्पनीले दुधखोलामा पुल निर्माण गर्ने ठेक्का पाएको थियो। तर‚ ठेक्का लिएर वर्षौँसम्म काम नगरी ठेकेदारले आलटाल गरेर झुलाइदिएपछि स्थानीयवासीले खोलामा काठको पुल निर्माण गरेका हुन्।

एक वर्षभित्रै सक्ने गरी ठेक्का लिएको योजना अहिलेसम्म अलपत्र छ। क्याराभानले मृत सञ्जीवनी र खड्का कृष्ण जेभीमा काम गर्ने सम्झौता गरेको हो। थोंचेबाट तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल २०७३ असारमा ठेक्का लागेको थियो।

२०७४ साउनमा सक्नुपर्ने सम्झौता भए पनि हालसम्म चारपटक म्याद थप भएको छ। तर‚ काममा प्रगति छैन। भ्याटबाहेक तीन करोड ५५ लाख रुपैयाँमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब एक करोड ३२ लाख रूपैयाँ निकासा पाइसकेको छ।

क्याराभानले नै २०७३ असारमा ठेक्का लिएको चार करोड ५७ लाख रुपैयाँको हुम्डे पुलसमेत अलपत्र छ। मर्स्याङ्दी नदीमाथि हुम्डेमा पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले २०७३ कै असारमा बोलपत्र आह्वान गरेको थियो। श्री गाल्वा र क्याराभान कम्पनीले यसको ठेक्का पाए। भ्याटसहित चार करोड ५७ लाख रुपैयाँमा ठेक्का दिइएको यो पुल २०७४ माघमा सक्नुपर्ने हो।

तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छवटा पुलको ठेक्का लगाएको थियो। पिसाङ र मुङजीमा निर्माणाधीन पुल अलपत्र अवस्थामै छ। क्याराभानले म्यार्दीखोलाको पुल भने पूरा गरेको छ। तिमाङको पनि असारको बाढीले भद्रगोल अवस्थामा छ।

सडक सञ्जाल ढिलो पुगेको मनाङका अधिकांश खोलामा अहिले पनि काठकै पुल तरेर गाडी र मान्छे आवतजावत गर्छन्। डुम्रे, बेँसीसहर, चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको तर बजेट विनियोजन भइसकेको छैन। अहिले सडक चामेबाट कटेर भ्राताङ हुँदै उकालो लागेको छ। न सडक पक्की बनेको छ, न पुल राम्रो छ। काठे पुलकै भरमा ठूला गाडीसमेत तर्दा जोखिम बढेको स्थानीयवासी बताउँछन्।

नासों गाउँपालिका अध्यक्ष चन्द्र घले ठेकेदारको चरम लापरबाहीले नागरिक सास्ती भोग्न बाध्य भएका बताउँछन्। ‘मोटरेबल पुल बनाउन सात वर्षभन्दा पहिले ठेक्का दिएको हो। अहिलेसम्म सम्पन्न भएन। त्यहाँका जनतालाई सास्ती छ। उनीहरू मिलेर काठको पुल बनाए,’ घलेले भने, ‘गाह्रोसँग त्यही पुलबाट आवतजावत गरेका छन्। यो पनि जेठसम्मका लागि मात्रै हो। खोला बढेपछि पुल बगाउँछ।’

मनाङका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्कामात्रै ओगटेर काम नगरेको बताए। ठेकेदारविरुद्ध पटक–पटक उजुरी गर्दा पनि कारबाही नभएको उनको भनाइ छ। ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक–पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरेका थिए। निर्माण कम्पनी क्याराभानका फिल्ड इञ्जिनियर प्रशान्त तामाङले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.