|

सिन्धुली : सरकारले पहिलोपटक भूमिहीन दलितलाई जग्गाको लालपुर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरेको छ।

राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिहीन १०६ घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन्।

६७ वर्षको उमेरसम्म भूमिहीन भएर जीवन बिताएका दुधौली नगरपालिका–९ लखिमा दोकानडाँडा भोला सदा मन्त्रीको हातबाट लालपुर्जा पाउँदा हर्षित छन्। उनी बागमती प्रदेश सरकारले बनाएको मुसहर बस्तीमा बस्दै आएका थिए। ‘पाँच पुस्तासम्म पनि हामीले लालपुर्जा पाएनौं तर अहिले आएर लालपुर्जा पाए निकै खुसी छु’, उनले भने।

६० वर्षको उमेरमा लालपुर्जा पाएपछि फेकनी सदा पनि हर्षित भएकी छिन्। उनी भन्छिन्, ‘हामीलाई जहिले पनि कहिले उठाउँछ र कता पठाउँछ भन्ने डर हुन्थ्यो। मान्छेले यहाँबाट हटाउँछ भन्थे तर अहिले लालपुर्जा पायौं। यो सरकारलाई धन्यवाद भन्छु। पहिला नै घर पनि बनाइदिएको छ’, उनले भनिन्। वर्षौदेखि बनीबुतो र ज्याला मजदुरी गरेर जीवन गुजारा गर्दै आएका उनीहरू लालपुर्जा पाएपछि हर्षित छन्।

लालपुर्जा वितरणपछि मन्त्री श्रेष्ठले संविधानले मौलिक हकअन्तर्गत रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताइन्।

उनले भनिन्,‘ संविधानमै लिपिबद्ध गरिएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो। सोही अनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेका हौं’।

प्रक्रिया मिलेका सबै ठाउँमा स्थानीय चुनावको आचारसंहिता लाग्नु पहिला धेरैभन्दा धेरै लालपुर्जा वितरण गर्ने बताइन्। उनले केपी ओली नेतृत्वको सरकारले तीन वर्षसम्म लालपुर्जा वितरणको काममा सिन्को नभाँचेको आरोप लगाइन्।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न ऐन, कानुन संशोधन गरेर भए पनि छोटो प्रक्रियाबाट लालपुर्जा वितरण सुरु गरिएको उनले बताइन्

मुसहरबस्तीमा जमिन भोगचलन गर्दै आएका दलित मुसहरलाई न्यूनतम एक घण्टादेखि पाँच कट्ठासम्म जमिनको स्वामित्व लालपुर्जा वितरण गरेको राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गणेश पहाडी र बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल राजनले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण अभियान सुरु गरेर सरकारले संविधानको सफल कार्यान्वयन गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.