|

बाँके : अघोषित लोडसेडिङका कारण बाँकेका उद्योगहरुको उत्पादन घटेको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले अघोषित लोडसेडिङ गर्न थालेपछि उद्योगीहरु मर्कामा परेका हुन्।

गर्मीसँगै नेपालगन्जमा अघोषित रुपमा दैनिक ८ देखि १० घण्टा लोडसेडिङ हुन थालेको छ। भारतबाट ल्याएको विद्युतले धान्न नसकेपछि दैनिक ६ देखि ८ घण्टा लोडसेडिङको मार खेपिरहेको शिखर प्लाईउड र शिखर केवलका संचालक चम्पालाल बोथ्राले बताए।

लोडसेडिङ र लो–भोल्टेजका कारण उत्पादनमा कमी आएको नेपालगन्जका उद्योगीहरुको गुनासो छ। लोड्सेडिङ र लो–भोल्टेजका कारण उत्पादनमा २५ प्रतिशत ह्रास आएको बोथ्राले जानकारी दिए।

'कहिले बढी र कहिले कम भोल्टेज आएका कारण ५ वटा मोटर जलिसक्यो। उद्योगको काम हुने समयमा लो–भोल्टेज भएपछि मेसिन चलाउनै सकिएको छैन,’ बोथ्राले भने।  उनले लो–भोल्टेजका कारण दिउँसोको काम अवरुद्ध भएको बताए। ' सरकारले लोडसेडिङ नहुने घोषणा गर्दा निकै खुसी लागेको थियो। तर घोषणा कार्यान्वयनमा नआएका कारण समस्या छ। बोलेको कुरा कार्यान्वयन भएको भए घाटा ब्यहोर्नु पर्ने थिएन,' बोथ्राले भने, ‘मेसिन संचालन हुन नसक्दा मजदुर दिनभर त्यसै बस्छन्। एकातिर मजुदरलाई त्यसै पारिश्रमिक दिनु परेको छ। अर्कोतिर उत्पादन घटेर दोहोरो मारमा परेका छौँ।’

लोभोल्टज समाधान गर्न ट्रान्सफरमर जडान

 नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जका प्रमुख उमेश कुमार झाले १–२ दिनदेखि नेपालगन्जमा लो–भोल्टेजको समस्या नभएको बताए। उनले कोहलपुर स्टेशनमा ट्रान्सफरमरको क्षमता वृद्धि कार्य भइरहेकोले नेपालगन्जमा विद्युत आपूर्ति बन्द भएको बताए।

‘विद्युतको क्षमता वृद्धि गर्ने कार्य जारी रहेकोले बीच–बीचमा बत्ती काट्नु परेको हो,’ उनले भने, ‘विद्युत जडानको क्रममा लाइन काट्नै पर्ने भएकोले लोडसेडिङ भएको भान भएको होला।’

उनले कोहलपुरस्थित विद्युत स्टेशनमा थप १५ केभिएको ट्रान्सफर जडान भइरहेको बताए। उक्त स्टेशनमा पहिले १५ केभिएको ट्रान्सफरमर थियो। ट्रान्सफरमर जडान भएपछि नेपालगन्जमा लोडसेडिङ र लो–भोल्टेजको समस्या कम हुने उनले बताए।

उनले ट्रान्सफरमर जडान भएपछि नेपालबाट १५ देखि १७ मेगावाट विद्युत नेपालगन्ज ल्याउन सकिने बताए। ‘ट्रान्सफरमर जडान भएपछि नेपालगन्ज लोडसेडिङ मुक्त हुन्छ त म भन्न सक्दैन, तर अहिले भोग्दै आएको लोडसेडिङ र लो–भोल्टेज समस्या धेरै समाधान हुन्छ,’ वितरण प्रमुख झाले भने, ‘कहिले बढी र कहिले कम भोल्टेज आउने समस्या पनि समाधान हुनेछ।’

ट्रान्सफरमर जडान हुनु खुसीको विषय

विद्युत प्राधिकरणले नेपालगन्जको विद्युत समस्या समाधानका लागि ट्रान्सफरमर थप गरेपछि यहाँका उद्योगी, व्यवसायी र सर्वसाधारणमा खुसीयाली छाएको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए।

उनले ट्रान्सफरमर जडान पूरा भएपछि नेपालगन्जमा लोडसेडिङ र लो–भोल्टेजको समस्या नहुने बताए । नेपालगन्ज उद्योग बाणिज्य संघले बर्षौँ पहिलेदेखि उठाउँदै आएको माग विद्युत प्राधिकरणले पूरा गरेकोमा उनले खुसी व्यक्त गरे। ‘हाम्रो अभियान सफल भएको छ, अबदेखि नेपालगन्जबासीले विद्युत समस्या खेप्नु नपर्ने भएको छ,’ उनले भने।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.