मातृकाले मानेनन् खादा लगाउन

|

काठमाडौं : बिहीबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा ठूलै भीडभाड थियो। उस्तै अव्यवस्थित पनि। कार्यक्रम थियो क्रान्तिकारी विद्यार्थीहरुको एकता भेला। विभिन्न टुक्रामा विभाजित माउ पार्टी एकठाउँमा आए पनि विद्यार्थीहरु बल्ल एकतामा जुट्दै थिए।

१२ बजेबाट कार्यक्रम सुरु गर्ने आयोजकको तयारी भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्धारित समयभन्दा एक घण्टा ढिला आइपुगेका थिए। भेलाका प्रतिनिधि, अतिथि र आयोजक प्रचण्डकै पर्खाइमा थिए। प्रचण्ड १२ बजे नै आउने तयारीमा थिए तर पार्टीको हेडक्वार्टर बैठकले उनलाई एक घण्टा ढिलो बनायो। तर प्रचण्ड उपस्थित भइसक्दा पनि कार्यक्रम भने सुरु भएन।  

प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडाबाट निस्केको थाहा पाएपछि कार्यक्रमका आयोजक मञ्च मिलाउनतिर लागे। प्रचण्ड कार्यक्रमस्थल प्रवेश गर्दा मञ्चमा विद्यार्थी नेताको घुइँचो थियो। हतारहतार मञ्च मिलाइयो र अस्तव्यस्तताकै बिच कार्यक्रम सुरु भयो।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै अनेरास्ववियू क्रान्तिकारीका संयोजक रमेश मल्लले प्रचण्डको गुणगान गाए। माओवादी र देशलाई एकताबद्ध गर्ने जिम्मेवारी प्रचण्डको काँधमा आएकोले त्यसको नेतृत्व गर्न उनले आग्रह गरे।

लगत्तै स्वागत मन्तव्य राखेका मातृका यादव निकट क्रान्तिकारी विद्यार्थी संगठनका संयोजक सन्तोष विष्टले प्रचण्ड नेतृत्वको माओवादीका गल्ती र कमजोरीका कारण पार्टी फुटेको प्रसंग कोट्याए। उनले एकताअघि भएका सहमति कार्यान्वयन नभए फेरि पार्टी फुट्ने चेतावनी दिए।

पार्टी विभाजनको कारण र एकताको कारण खुलाउँदासम्म कार्यक्रममा उपस्थितले विष्टको स्वागत मन्तव्य ध्यानपूर्वक सुनिरहेका थिए। तर जब उनी आक्रामक हुँदै प्रचण्डमाथि खनिए हलमा होहल्ला सुरु भयो।

‘पार्टी एकता गर्दा भएको १३ बुँदे सहमति प्रचण्ड कमरेडले दराजमा लगेर थन्क्याएको खण्डमा हामी फेरि पार्टीबाट निस्केर जान्छौँ, होइन भने पार्टीले यसलाई कार्यान्वयनको दिशामा लैजाओस्’ विष्टले यति के भनेका थिए, कार्यक्रमस्थलमा कोलाहल मच्चियो। लाग्थ्यो हलमा उपस्थित कसैले उनको स्वागत मन्तव्य सुन्न चाहँदैनन्। हलबाट आवाज आयो- ‘आजको दिनमा आएर नमिल्ने कुरा गर्न पाइँदैन।’

हलभित्र होहल्ला भएपछि विष्टले आफ्नो मन्तव्य टुंग्याए।

लगत्तै माओवादी केन्द्रका कार्यालय समिति सदस्य मातृका यादव कार्यक्रमस्थल प्रवेश गरे। सञ्चालकले उनलाई अतिथि आसन गराए। अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले उनलाई खादा र अतिथि कार्ड दिए तर उनले खादा लगाउन मानेनन्, लगाएको अतिथि कार्ड एकैछिनमा निकालेर खल्तीमा हाले।

अन्त्यमा कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले 'विद्यार्थी आन्दोलनमा नेता जन्मिनु गौरवपूर्ण' भएको बताए। 'नेपाली राजनीति र पार्टीलाई उचाईमा पुर्‍याउन विद्यार्थीको रचनात्मक भूमिका हुने' भन्दै प्रचण्डले आफूप्रति आक्रोश पोख्ने विद्यार्थी नेता विष्टप्रति लक्षित गर्दै भने- ‘विद्यार्थी क्षेत्रमा नेताहरुको जन्मिएको पाएँ। म अत्यन्तै खुसी छु। यो क्षेत्रमा नेता नजन्मिए जाम हुन्छ। कहिल्यै प्रगति हुँदैन।’ 

प्रचण्डले यति के भनेका थिए, कार्यक्रम हलमा तालीको गड्गडाहट सुनियो। भाषण सकेर प्रचण्ड कार्यक्रमस्थलबाट बाहिरिए र गाडी चढे। मातृका यादव पनि प्रचण्डसँग लिफ्ट मागेर सँगै हुइँकिए।

एकता भेलाले नरेन्द्र न्यौपानेलाई संयोजकको जिम्मेवारी दिएको छ। क्रान्तिकारीले ६ महिनाभित्र महाधिवेशन गर्ने तयारी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.