|

चितवनः  २०७३ सालको असार ३ गते चितवनको निकुञ्ज र  टिकौलीमा रहेका वन्यजन्तुका अंग (अखेटोपहार नष्ट) गर्ने निर्णयसँगै तयारी गरिएको थियो। तर एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार रहेको त्यस समय अविश्वासको प्रस्तावपछि ओलीले राजिनामा दिएपछि उक्त योजना त्यसै तुहियो। 

त्यही योजना यसपालि सफल हुँदै छ। भोलि सोमबार चितवनको टिकौली र निकुञ्जको कसरामा रहेका वन्यजन्तुका अंग नष्ट गरिँदै छ। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमेत आउने कार्यक्रम रहेको छ। आज टिकौलीमा पत्रकार सम्मेलन गरी वन्यजन्तुको अखेटोपहार व्यवस्थापन नष्ट गर्ने कार्यान्वयन समितिले उक्त कार्यक्रमबारे जानकारी दिएको हो।

सो अवसरमा दिइएको जानकारीअनुसार सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिएका एक हजार ७३९ थान र चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरी राखिएका दुई हजार २७३ थान गरी जम्मा चार हजार १२ थान अखेटोपहार नष्ट गरिने कार्यक्रम रहेको छ। बिहान ९ बजे प्रधानमन्त्री दाहालले कार्यक्रमको उद्घाटन गर्दै छन्।

बाघको छाला ६७ थान, गैँडाको खाग ३५७ थान, हात्तीको पुच्छरको रौँ ३५४ थान, कस्तुरीको बिना ३४ थान, ध्वाँसे चितुवाको छाला दुई थान, हिउँ चितुवाको छाला एक थान, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका, हाब्रेको छाला ४७ थान, चितुवाको छाला ४१८ थान, भालुको पित्त १५ थानलगायतका अखेटोपहार सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा निकुञ्जको कार्यालय कसरामा नष्ट गरिने जानकारी दिइएको छ। 

भण्डारणमा रहेका पाँच थान बाघको छाला, १० थान एक सिंगे गैँडाको खाग, चार थान कस्तुरीको बिना, एक थान ध्वाँसे चितुवाको छाला, एक थान हिउँ चितुवाको छाला, दुई थान रातो हाब्रेको छाला, पाँच थान चितुवाको छाला अध्ययन अनुसन्धानका लागि राखिनेछ। २७ प्रजातिका ८४ थान अखेटोपहार सुरक्षित राख्न लागिएको हो। 

पत्रकार सम्मेलनमा अखेटोपहार व्यवस्थापन कार्यान्वयन समितिका संयोजक एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले नष्ट गरिने अखेटोपहार साइटिसको अनुसूची १ मा सूचीकृत प्रजाति १८, अनुसूची २ मा सूचीकृत प्रजाति ४, अनुसूची ३ मा सूचीकृत प्रजाति ४ र अन्य प्रजाति २२ गरी ४८ प्रजातिका अखेटोपहार रहेको जानकारी दिए। 

हात्तीको दाह्रा जलाउनको लागि आवश्यक तापक्रमको अभावका कारण भण्डारण गरी राखिएको एक हजार १०० केजी दाह्रा हाल नष्ट नगरिने उनले जानकारी दिए। हात्तीको दाह्रा जलाउनका लागि ९०० डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक पर्ने भएकाले तत्काल सम्भव नरहेको सो अवसरमा जानकारी दिइएको थियो। 
नेपाल सरकार मन्त्रीपरिषद्को गत जेठ ४ गतेको निर्णयअनुसार अखेटोपहार नष्ट गर्न लागिएको हो।

सो अवसरमा दिइएको जानकारीअनुसार मुद्दा चलिरहेका अखेटोपहार र अनुसन्धानका लागि राखिने केही अखेटोपहारबाहेक अन्यलाई नष्ट गरिनेछ। 
कार्यक्रममा वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले वन्यजन्तुको चोरी शिकार एवं अवैध व्यापार नियन्त्रण गर्ने कार्यमा यसले सहयोग पुर्‍याउने बताए। 

उनले अखेटोपहार औषधिलगायत अन्य कुनै पनि प्रयोजनमा प्रयोग हुँदैन भन्ने सन्देश प्रवाह गर्न, अवैध चोरी शिकारी र त्यसका प्रयोगकर्ता निरुत्साहित पार्न, नेपालका वन्यजन्तु र जैविक विविधता संरक्षण सम्वद्र्धन र व्यवस्थापनमा सकारात्मक प्रभाव पार्न नष्ट गर्न लागिएको बताए। दुर्लभ र लोपोन्मुख वन्यजन्तुका अखेटोपहारहरू चोरी शिकारी र अवैध व्यापारीमार्फत् बजारमा आउन सक्ने जोखिमको अन्त्यसमेत यसबाट हुने बताए। 

अखेटोपहारको सुरक्षामा चुनौती रहेको भन्दै उनले आर्थिक तथा प्राविधिक हिसाबले पनि नष्ट गर्नु औचित्यपूर्ण रहेको दाबी पनि गरे। 

साइटिसको रिजोलुसनमा समेत अखेटोपहार नष्ट गर्न सकिने व्यवस्था रहेको जानकारी दिँदै उनले मलेसिया, युएई, चीन, श्रीलंका, संयुक्त राज्य अमेरिका, थाइल्याण्ड, केन्या, भियतनामलगायतका देशहरूले समेत यसरी अखेटोपहार नष्ट गर्ने गरेको बताए। 

निकुञ्जअन्तर्गतका अखेटोपहार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा र वन विभागअन्तर्गतका अखेटोपहार सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा राखिएको थियो। नेपाल दुर्लभ वन्यजन्तुको अखेटोपहार ओसारपसारको ट्रान्जिटको रूपमा विकास भएको भन्दै संकलित अखेटोपहारमा अन्य देशबाट नेपाल हुँदै ओसारपसार गर्दा बरामद गरिएकासमेत रहेको सो अवसरमा जानकारी दिइयो। 

यसअघि २०५४ चैत ९ गते सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा अखेटोपहार जलाएर नष्ट गरिएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौं संशोधनको दफा २० (क) मा अखेटोपहार नष्ट गर्न सकिने व्यवस्था भएको साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० चौथो संशोधन २०७४ को नियम ३३ (क) १ मा प्राकृतिक वा अन्य कारणबाट मृत्यु भएका वन्यजन्तुबाट संकलन गरिएको वा प्रचलित कानुनबमोजिम जफत गरिएको अखेटोपहार मन्त्रालयले उपयुक्तताको आधारमा शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिने, प्राकृतिक विज्ञान संग्राहलयमा प्रदर्शनीका लागि राख्ने वा नेपाल सरकारको निर्णयअनुसार नष्ट गर्न सकिने व्यवस्था रहेको छ।

पत्रकार सम्मेलनमा वन राज्यमन्त्री दीर्घराज भाट, वन मन्त्रालयका सचिव प्रकाश माथेमा, वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाललगायतको उपस्थिति थियो। 

अखेटोपहार नष्ट गर्न विभागीय मन्त्रीहरूसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, सांसदहरू, विभिन्न देशका राजदूतहरू, दातृ संस्थाका नेपाल प्रतिनिधि, स्वदेशी तथा विदेशी पत्रकारहरूको उपस्थति रहने जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.