|

वीरगन्ज : विद्युतको नाङ्गो तार नजिक काम गरिरहेका वेला अचानक तार छुन पुगी पर्साको अलग–अलग ठाउँमा एकै दिन दुई पुरुषको ज्यान गएको छ। मृत्यु हुने दुवै जना अरुको घरमा काम गर्न गएका श्रमिक भएको खुलेको हो।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का ६० वर्षीय ध्रुव प्रसाद साह र धोबिनी गाउँपालिका वडा नम्बर ३ बस्ने ३० बर्षीय सैफुल्ला अन्सारी  रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ बसपार्क स्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रममा साहले त्यहाँ नाङ्गो विद्युतको तारमा छुन पुग्दा उनी भूईंमा लडेर सख्त घाइते भएका थिए। पछि स्थानीय आशाराम अस्पतालमा पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर २६ को रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तलाको प्लाष्टर गर्ने क्रममा अचानक विद्युतको ११ हजार भोल्टको तारमा अन्सारीले छुन पुग्दा उनको मृत्यु भएको पनि उनको भनाइ छ।

दुर्घटना बारे जानकारी प्रहरीमा आउनासाथ नजिकको प्रहरी कार्यालयबाट त्यहाँ पुगेको प्रहरी टोलीले घटनाको बारे लास जाँच मुचुल्का तयार पारी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

अरुको घरमा काम लगाउनेले सुरक्षा सतर्कता बारे सतर्कता अपनाए नअपनाएको बारे थप अनुसन्धान भइरहेको पनि पर्सा प्रहरी नायब उपरीक्षक गिरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.