|


सुर्खेत : ३१ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा खटिएर कालीकोटबाट सुर्खेत आउँदै गरेका प्रहरी सवार रहेको मिनी जिप सुर्खेतमा दुर्घटना हुँदा एकजना प्रहरीको मृत्यु भएको छ।

सुर्खेत–दैलेख सडक खण्डअन्तरगत वीरेन्द्रनगर–१४ गोठिकाडा भन्दा २ किलोमिटरमाथि साउनेपानी भन्ने स्थानमा ना १ ग ४७६ नम्बरको जिप मंगलबार बिहान दुर्घटना हुँदा १ प्रहरीको मृत्यु भएको छ भने, २५ जना प्रहरी घाइते भएका छन्।

मृत्यु हुनेमा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको रहेको सुर्खेत प्रहरीले जनाएको छ। उक्त जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जानकारी दिए।

जिप अनियन्त्रित भई दुर्घटना भएको र दुर्घटनास्थलबाट उपचारको लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुको वीरेन्द्रनगरको देउती अस्पताल र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ। आर्चायका अनुसार जिप अनियन्त्रित भएपछि सडकबाट खसेको थियो। घाइतेहरुको अवस्था सामान्य रहेको एसपी आचार्यले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.