|
फाइल फोटो

रसुवा : उच्च भागमा चिसो बढ्दै गएकाले तातो खोज्दै हिँड्ने भालुका कारण जिल्लाको धुञ्चेक्षेत्रमा जोखिम बढेको छ। 

भालु मानव बस्तीको नजिक आएर हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएको छ। बंगुरको पाठालाई समेत भालुले आक्रमण गर्ने गरेपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन्।
         
केही समयअघि धुञ्चेस्थित मत्स्य अनुसन्धान केन्द्रको गोदाममा राखिएको माछाको दानासमेत भालुले नोक्सान गरेको थियो। पोखरीमा पालिएको माछालाई खुवाउन गोदाममा राखिएको दाना हराएपछि सीसीटीभी हेर्दा भालुले झ्यालको सिसा फोडी खाएको भेटिएको मत्स्य केन्द्रका कर्मचारीले बताए। 

भालुको त्रास न्यूनीकरण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाले अह्रोरात्र गस्ती गरी मानव तथा वन्यजन्तु दुवैलाई सुरक्षा दिइरहेको निकुञ्जले जनाएको छ। बढी चिसो भएपछि प्रायजसो जनावर तातो स्थान खोज्दै डुल्ने भएका कारण बिहान बेलुका बासस्थानबाट एक्लै बाहिर ननिस्कन, घाँस दाउरामा जाँदा साथीको साथमा मात्र हिँड्न अनुरोध गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए।
       
रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले लेकबाट झरेको भालु फागुनको १५ गतेसम्म बेँसीका मानव बस्ती आसपास तथा पहराको ओढारलगायतका स्थानमा बस्ने र बेँसीमा तातो बढ्दै गएपछि आफ्नो क्षेत्रमा पुनः फर्किने गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.