|

पोखरा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढ्न सबै राजनीतिक दलहरुसँग आग्रह गरेका छन्।  

नेकपा एमाले पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा शनिबार पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म सहमतिको वातावरणको विकल्प नभएको धारणा राखे।  

देशबाट गरिबी र पछौटेपन हटाउने, रोजगारीका अवसर सिर्जना गर्ने, जनतालाई समृद्धशाली र सुखी बनाउने सबैको एकमात्र लक्ष्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सहमतिको वातावरण बने पनि एमालेले नेतृत्वको दाबी नगर्ने जिकिर गरे।

एमाले अध्यक्ष ओलीले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राज्यको गहन दायित्वलाई मनन गरी राष्ट्रिय जनता पार्टीलाई सधैँभरि निहुँ नखोजी निर्वाचनमा सहभागी हुन आग्रह गरे। निर्वाचनपछि पनि जायज माग भए छलफल गरेर सम्बोधन गर्न सकिने उनको भनाइ थियो। 

एमालेविरुद्ध चारैतिरबाट घेराबन्दी गरिए पनि आमनेपाली जनताले एमालेप्रति विश्वास गरेर विजयी गराएका र निर्वाचित जनप्रतिनिधिले जनताको विश्वास र भरोसालाई मनन गरी इमान्दारीका साथ काम गर्नुपर्नेमा उनले जोड दिए। उनले पोखरा–लेखनाथ महानगरलाई भ्रष्टाचारमुक्त र आधुनिक सहर बनाउने गरी काम गर्न आग्रह गरे।

नवनिर्वाचित महानगर प्रमुख मानबहादुर जिसीले महानगरवासीले विश्वासका साथ सुम्पेको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्ने प्रण गरे। तीन वर्षभित्र महानगरका सबै वडामा कालोपत्रे, खानेपानीको व्यवस्था गर्ने बताउँदै उनले महानगरमा निर्वाचित भएपछि अब आफू सबैको साझा भएकाले सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समेटेर अघि बढ्ने धारणा राखे।

नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरलाई सफा, सुन्दर र समृद्ध बनाउन सबैसँग एकताबद्ध भएर अघि बढ्ने विचार व्यक्त गरिन्। पूर्व मन्त्रीद्वय खगराज अधिकारी र किरण गुरुङले पार्टी एकढिक्का भएर अघि बढेकाले नै एमालेलाई सफलता मिलेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.