|

लहानः विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेकामध्ये १०औँ गणतन्त्र दिवसको अवसरमा सिरहामा २३ जनाको बाँकी कैद सजाय मिनाहा भएको छ। 

सिरहा कारागारका जेलर शंकरलाल कर्णका अनुसार मन्त्रीपरिषद्को निर्णयअनुसार गृहमन्त्रालयमार्फत् कारागार व्यवस्थापन विभागबाट आएको परिपत्रअनुसार २३ जनाको बाँकी कैद सजाय मिनाहा गरिएकाले सोमबार अपराह्न रिहा गरिएको छ। कैद सजाय मिनाहा भई रिहा हुनेहरूमा दुई महिला र २१ जना पुरुष कैदी रहेका छन्। 

कारागारका जेलर कर्णका अनुसार गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान, सवारी ज्यान, डाका, हातहतियार तथा खरखजाना, कुटपिट, लेनदेन तथा बिगो, गर्भपतन र बहुविवाहको अपराधमा कैद सजाय भुक्तान गरिरहेकाहरूको बाँकी कैद सजाय मिनाहाा भएकाले सोमबार अपराह्न रिहा गर्दै घरपरिवारका सदस्यलाई जिम्मा लगाइएको छ। 

कर्तव्य ज्यान र सवारी ज्यान मुद्दाका बराबर

कैद सजाय मिनाहा भई रिहा हुनेहरूमा कर्तव्य ज्यान मुद्दाका बिन्दी सदा मुसहर, विनोद सदा मुसहर, मो. सहमत मियाँ, बुधन भनिने शेख हमिद रेजा, दुर्गानन्द यादव र सुलेनादेवी महरा रहेका छन्। त्यस्तै, सवारी ज्यानअन्तर्गत उपेन्द्र भनिने आपेन्द्रकुमार ठाकुर, विनोद ठाकुर, मुकेश पासवान, दीपेन्द्रकुमार सिंह, सिकम सिंह, उमेशकुमार यादव पनि बाँकी कैद सजाय मिनाहा भई रिहा भएका छन्। 

डाका मुद्दा र गर्भपतनका अपराधी पनि

कल्लु भनिने लेखनाथ यादव, राजकुमार यादव डाका मुद्दा तथा जोगेन्द्र राय कुर्मी चोरी मुद्दा, सद्दाम दफाली हातहतियार तथा खरखजाना, चन्देश्वर चौधरी कुटपिट, शिवचरण मोची लेनदेन तथा बिगो, महिनारायण महतो गर्भपतन, किशोरकुमार चौधरी बहुविवाह, मुन्निदेवी जोगी गोसाइँ र हरिनारायण चमार लेनदेन तथा बिगोअन्तर्गतको मुद्दामा बाँकी कैद सजाय मिनाहाा भएपछि रिहा भएका छन्। 

के छ कानुनी व्यवस्था?

‘सजाय माफी, मुल्तवी, परिवर्तन तथा कम गर्नेसम्बन्धी कार्यविधि २०७१’ अनुसार भ्रष्टाचार, जबरजस्ती करणी, सरकारी लिखत कीर्ते, राज्यविरुद्धको अपराध, मानव बेचबिखनसहित २४ वटा अपराधसम्बन्धी मुद्दाको सजाय माफी हुन सक्दैन।

त्यसबाहेकका अपराधसँग सम्बन्धित मुद्दाका कसूरदारहरूको कसूरको प्रकृति, कसूर गर्दाको परिस्थिति वा आशय, कसूरदारको उमेर, कैदीको चालचलन, कसूरदारको विगतको चरित्र, कैदीको स्वास्थ्य र कैद सजाय भुक्तान गरेको अवधि तथा बाँकी कैद अवधिको आधारमा कैदीको बाँकी सजाय माफी गर्ने वा नगर्ने आधार निर्क्योल गरिने कार्यविधिमा उल्लेख छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.