|

  • भविश्वर पाण्डे-

कावासोती : पूर्व-पश्चिम राजमार्गअन्‍तर्गत नवलपरासीको दाउन्नेमा जडान गरिएका कन्भेक्स मिरर (ऐना) मा सुरक्षा चुनौती बढेको छ। जिल्लामा अत्याधिक दुर्घटना हुने क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न ज्यामिरेदेखि एक्समोडसम्म विभिन्न घुम्तीहरुमा मिरर राखिएको थियो।

३ महिनाको अन्तरालमा त्यहाँ राखिएका मिररमध्ये १२ वटामा अज्ञात समूहले तोड्फोड गरेको छ। स्थानीय तहको चुनावको समयमा त्यस क्षेत्रमा रहेका मिररमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ।

ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावलका अनुसार अहिले उक्त मिररमा क्षति पुर्‍याउने व्याक्तिको खोजी कार्य भइरहेको छ। १ जना व्याक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिए पनि अहिलेसम्म उक्त कार्यमा संलग्न अन्य मानिसहरु पक्राउ परेका छैनन्। चरणबद्ध रुपमा रातको समयमा मिररमा तोड्फोड गरिएको हो रावलले भने, यसको सुरक्षा गर्ने जिम्मा सबै क्षेत्रको हो। 

दाउन्नेको उकालो र ओरालोमा रहेका सम्भावित दुर्घटना हुने स्थानमा कन्भेक्स जडान गरिएको थियो। रावलले भने, ‘हामीले ४८ वटा मिरर राखेका थियौं, तर अहिले विभिन्न स्थानमा भएको तोड्फोडबाट हामी चिन्तित भएका छौं।’

जिल्ला नागरिक सुरक्षा कोष, यातायात व्यवसायी, उद्योग वाणिज्य संघलगायत विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा करिब ११ लाखको लागतमा जडान गरिएको थियो।

एउटा मिरर जडानमा २५ हजार रकम खर्च हुन्छ, अहिले १२ वटामा तोड्फोड हुँदा करिब ३ लाख रुपैयाँको क्षति भएको छ। क्षति भएका मिररहरुलाई पुन जडान गर्न पहल भइरहेको प्रहरीले बताएको छ।

क्षति पुगेका मिररहरुमा दाउन्ने पूर्वमा ११ बटा र दाउन्ने पश्चिममा १ वटा रहेका छन्। तोड्फोड गरेर सडकको किनारमा फालिएको अवस्थामा ६ वटा मिरर भेटिए पनि अन्य भने अहिलेसम्म फेला परेको छैन। मिरर चीनबाट भारत हुँदै नेपाल ल्याइएको हो।

मिररमा क्षति पुगेको प्रति सडकमा सवारी सञ्‍चालन गर्ने चालक र यात्रुहरुले दुख व्यक्त गरेका छन्। कन्भेक्स मिरर दुर्घटना न्यूनीकरणको लागि उपयोगी देखिएको भन्दै तोड्फोड गरिएको स्थानमा पुन मिरर राख्न र त्यसको सुरक्षामा ध्यान दिन अनुरोध हुन्।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले मिररको उद्घाटन गरेका थिए। नवलपरासी अत्याधिक दुर्घटना हुने जिल्लामा पर्छ। दुर्घटना न्यूनीकरणको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरु सञ्‍चालन गर्दै आएको छ।

१० महिनाको अन्तरालमा नवलपरासीमा १ सय १६ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको प्रहरी तथ्यांक छ।    

ओभरट्याकले हुने दुर्घटना रोकियो

जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो ३ महिनाको तथ्याङ्कमा मानवीय क्षति हुनेगरी ठूलो दुर्घटना दाउन्ने क्षेत्रमा भएको छैन्। दाउन्नेमा ठूलो दुर्घटना घुम्ती र ओभर ट्याकको कारण हुने गरेको थियो अहिले त्यो रोकिएको छ प्रहरी हवलदार पदम बडूले भने, 'दाउन्नेका घुम्तीहरुमा ओभरट्याक गर्दा हुने दुर्घटना न्यूनीकरण भएको छ।'यहाँ ओभेर लोड, तीव्र गति र ब्रेकफेलको कारण दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ।

सवारी चालक राम बहादुर केसीले भने, ‘यो मिररबाट करिब सय मिटर सम्मको दूरी देख्न सकिन्छ जसले गर्दा विपरित तर्फबाट आएको सवारीको अवस्था बुझ्न सकिन्छ।’ हामीलाई अहिले गाडी सञ्‍चालन गर्दा सहज भएको छ, ओभरट्याक गर्नुपूर्व कन्भेक्स मिररमा हेर्छौं।

विभिन्न सचेतनामूलक कार्यक्रम सञ्‍चालन गर्दा पनि दुर्घटना न्यूनीकरणको लागि खासै कमी नआएपछि मिरर जडान गरिएको हो। दुर्घटना न्यूनीकरणमा फलदायी बनेको र यात्रु चालकले सचेत रुचाएको मिररमा सुरक्षा चुनौती बढेपछि ट्राफिक प्रहरी चिन्तित बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.