|

रेलका डिब्बाझैँ जोडिएका छाप्राहरूमा सुरज आएको खबर फैलियो। बाघबहादुरका इष्टमित्रहरू, उसलाई चिन्नेजान्नेहरू भेट्न आए। सबैले एक मुखले सोधे, ‘कहाँ थियौ तिमी यतिका दिनसम्म?’

पुरानो छालाले मोरिएका, कमजोर हड्डीका सहाराले सामुन्ने उभिएका टीकाराम खड्काले भने अर्कै प्रश्न गरिरहेका थिए, ‘खोइ नरेन्द्र...?’

सुरजले भ्याल्सीबाट आँखा झिक्यो र टीकाराम खड्कालाई हेर्‍यो । उनले बारम्बार त्यही प्रश्न दोहोर्‍याइरहेका थिए, ‘खोइ नरेन्द्र?’

सुरजले नबोली सुख पाएन।

‘...सेनाले हामीलाई अलग्याएर नदी किनारमा पुर्‍यायो। तिनीहरूले केही कानेखुसी गरेपछि हाम्रा हात खोल्न लागे। मलाई डर लाग्यो। सायद तिनीहरू हामीलाई मार्नका लागि हात खोल्दै थिए। हुन सक्छ, तड्पाईतड्पाई मार्न चाहन्थे। जसबहादुर दाइ अति नै साहसी! बिजुलीको गति समातेर नदीमा हामफाल्नुभयो। दाइमाथि तिनीहरूले अन्धाधुन्ध गोली बर्साए। यही मौकामा कुमार पनि तेज गतिमा भाग्यो अँध्यारोतिर र नजिकैको झोप्सीमा बिलायो। नरेन्द्र दाइ र म के गरौँ, कसो गरौँ भयौँ। भाग्न सकेनौँ। नभाग्नाले सेनाले दाइ र कुमारलाई खेदाउन पाएनन् बरु जे भएको रिस हामीमाथि पोखे। खुन छादुन्जेल छातीमा, कोखमा, पैतालामा, गोलीगाँठामा भकुरे।

हामी दुवै बेहोस भयौँ। मारिन्थ्यौँ होला तर दाइहरू भागेपछि हामीलाई त्यो खाले सिङ्गो मृत्यु दिन चाहेनन्। किस्ताबन्दी क्रूर मृत्युमा हामीलाई छटपटाएको हेर्न चाहे। होसमा आउँदा हामी दुवैलाई चावासुम ठोकेर चिराङको डम्फु जेलमा खाँदिएको थियो।

हामीसँग प्रजापति नेपाल, हरि चौहान, चूडामणि ओडारी, अच्युतकृष्ण नेपाल, नन्दलाल भट्टराई, देवनारायण ढकाल, बलबहादुर घिसिङ, तुलसी रिजाल, जगन्नाथ रिजाल, घनश्याम रेग्मी, पुण्यप्रसाद ढकाललगायतका बन्दीहरू थिए।

जेल नर्क जस्तै थियो। पातलो थाङ्नो ओछ्याएर रात काट्नुपर्थ्यो। सेनाको कमाण्डर छिमीले छ डन्ठीका दरले प्रत्येक बन्दीलाई हिर्काउने आदेश दिएको थियो। रक्सीले मातेका सेनाहरूले हेक्का नराखी कुट्थे। थाकुन्जेल भकुर्थे। छदेखि बीस डन्ठीसम्म हान्थे। खिया परेको टिनको पातामा ढुङ्गामाटो, कसिङ्गर इत्यादिले युक्त खानेकुरा दिन्थे। हामीलाई पशुसरह व्यवहार गरिएको थियो।

सन् १९९१ को एक रात। सम्पूर्ण बन्दीलाई भोकै राखियो। जब रातको ११ बज्यो, सेनाको कमाण्डर छिमी अचानक जेलभित्र आयो। हामी सबैलाई घोप्टो पार्‍यो र काठको काँचो डन्ठीले रक्सीमा भिल्ल भएका सेनालाई बलसक्दो हिर्काउन लगायो। तिनीहरूले हामीलाई यसरी भकुरे कि हाम्रा छाला पटपटी फुटे। नरेन्द्र दाइले तातो खुन छादिरहनुभएको थियो तर पनि ती जल्लादहरूले पिटी नै रहे।

यति हुँदा पनि छिमीको रिस मरेन। उसले अकबरे खोर्सानी पिस्न लगायो र पानीमा घोलेर पिलायो। पिउन नमान्नेहरूलाई मार्ने किसिमले पिट्न थाल्यो। त्यो क्रूरता सहन नसकेर हामी थुप्रैले पियौँ। खोर्सानीको जलनले सबैको पेट कट्टी भो। दिशाबाट रगत जान थाल्यो। दिनँहुको बर्बर यातना, चिसो ठिही र चिन्ताले नरेन्द्र दाइको स्वास्थ्य बिग्रँदै गइरहेको थियो। अर्का बन्दी पुण्यप्रसाद ढकालको हालत पनि उस्तै कमजोर बनिसकेको थियो। त्यो रातको पिशाचीय यातनाले भने दुवै थला बसे।

पछि हामीलाई नेल ठोकेर चेमगाङ सारियो। त्यहाँ पुगेको भोलिपल्टदेखि नै कारागार निर्माणस्थल सम्याउने काममा बन्दीलाई लगाइयो। हामीले खाली हातले रूखका जरा उखेल्नुपर्‍यो। ढुङ्गा पल्टाउनुपर्‍यो। म पूर्णरूपेण गलिसकेको थिएँ। नरेन्द्र दाइ, पुण्यप्रसादलगायतले जिउ छाडिसकेका थिए।

पुण्यप्रसादलाई चिसो भुइँमा सुताइएको थियो। दिसा, पिसाब एकै ठाउँमा गर्न थालेका थिए। उनका वरिपरि झिँगा भन्किरहेका हुन्थे। न खानेकुरा, न खाट, न ताता लुगा; उनको महाबिजोग हेर्न हामी विवश थियौँ। आँत हरहर हुँदोरहेछ, होस आएका बेला पानी माग्थे। धेरैजसो बेहोसै लडिरहन्थे।

एक दिन पुण्यप्रसादले पानी मागे। बाहिर पहरा दिइरहेको एक असत्ती पुलिसले एक कैदीलाई इङ्गित गर्दै भन्यो, ‘त्यसका मुखमा मुती दे अए...’

त्यो सुनेर मुरो मुटु चिरा पर्‍यो। मलाई थाहा थियो; मैलै पानी खुवाउनु उनीहरूका लागि अपराध हो तर हिम्मत जुटाएर खुवाएँ। उनीसँग मेरो त्यही नै अन्तिम भेट थियो।

भोलिपल्ट बिहान सात बजे रामबहादुर दर्जी नाम गरेको पुलिस आत्तिँदै करायो, ‘लौ न! पुण्यप्रसाद ढकाल मरेछ...।’

म त्यहाँ पुग्दा उनले प्राण त्यागिसकेका थिए। सायद त्यो रात उनलाई क्रूर यातना दिएर मारिएको थियो किनकि उनका पिँडुला र पैतालामा परैबाट मोटा नीलडामहरू देखिन्थे।

नरेन्द्र दाइको स्वास्थ्यस्थिति ओरालो लागिरहेको थियो। उहाँमा खोकी जाक्किएको थियो। आन्द्राभुँडी बाहिर आउन्जेल खोक्नुहुन्थ्यो। रोगले भन्दा पनि मानसिक चिन्ताले बढी खाइरहेको थियो। सपना होस् कि विपना, आमा... बुबा... उर्मिला... बुलबुल भनिरहनुहुन्थ्यो। उहाँलाई परिवारको सम्झनाले ऐठन नगरेको रात हुँदैनथ्यो। हामी दुवै चिठी लेख्दै च्यात्दै गर्थ्यौँ किनकि हामीसँग पठाउने ठेगाना नै थिएन।

उहाँलाई एक दिन छोरीको साह्रै याद आएछ, आँखाभरि आँसु पार्दै मलाई भन्नुभयो, ‘भाइ! मेरी बुलबुललाई नभेटी मर्छु होला म।’

मैलै जीवनमा उहाँलाई त्यति कमजोर कहिल्यै भेटेको थिइनँ।

एक हप्तापछि एक प्रहरी आयो र नरेन्द्र दाइलाई कमाण्डर छिमी भए ठाउँमा लिएर गयो। त्यस दिनदेखि दाइ जेलमा देखापरेनन्। पछि त्यो प्रहरीले रक्सीले मातेका बेलामा हामीसँग सत्यतथ्य ओकल्यो, ‘कमाण्डर छिमीले एउटा कागजमा सही गर्न लगायो तर नरेन्द्रले मानेन। छिमी रिसले बौलायो। उसले ठूलो चिर्पटले नरेन्द्रको चल्लीमा हान्यो। ...रिसले आगिन्द हुँदै त्यही चिर्पटले फेरि खप्परमा हान्यो। नरेन्द्र पुक्लुक्क ढल्यो र ठाउँको ठाउँ भयो। त्यो कागजमा के लेखेको थियो, मलाई थाहा छैन तर त्यतिले नरेन्द्रको ज्यान लियो। सही गरेको भए नरेन्द्र जेलमुक्त हुन्थ्यो। ...मैले भनेको भनेर कसैलाई नभन्नु। तिमीहरूको पनि त्यही गति हुनेवाला छ।’

'त्यो प्रहरीको कुराले हामी सबैलाई थर्कमान पार्‍यो...’ सुरजले कहानी टुङ्ग्याउन पाएन। रुवाबासीले माहोल बिथोलियो। बुलबुलका आँखा थामिएनन्। सुरजको त्यो कथाले उसको हृदय विस्फोट भयो। भक्कानिँदै रुन लागी ऊ। टीकाराम त्यहीँ मूर्छित बने। छिमेकीहरूले उनलाई बोकेर लगे। छाप्रोमा छिराए र खाटमा पसारे।

त्यो छाप्रोमा मात्रै होइन, क्याम्पभरि नै शरणार्थीहरू आआफ्नै मिलन र बिछोडको कथामा रोइरहेका भेटिन्थे। फरक यति मात्र हो- त्यस दिन अरू छाप्रा मौन थिए, टीकारामको छाप्रोमा रोदनका हिक्काहरू छुटिरहेका थिए।

टीकाराम खड्काको होस घन्टौँपछि आयो तर पनि उनी एक हप्तासम्म ओछ्यानबाट उठेनन्। मुढो जस्तो ढलिरहे।

(दिनेशकुमार कार्कीको उपन्यास ‘हन्बेर्नो’ २७ गते शनिबार सार्वजनिक हुँदै छ। यस पुस्तकको प्रकाशन इन्डिगो इन्कले गरेको हो।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.