|

जनकपुरधाम : धनुषाको सीमावर्ती क्षेत्रमा धरिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव भेटिएको छ। नेपाल भारतको सीमावर्ती क्षेत्र जनकनन्दनी गाउँपालिकाको १ मा धरिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा सो बेबारिसे शव भेटिएको हो।

शवको प्रकृति तथा घटनास्थल हेर्दा शुक्रबार साँझ हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। शुक्रबार रातको समयमा स्थानीय रामबाबु यादवको घर पछाडि अन्दाजी ३० वर्षका पुरुषको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक लालमणि आचार्यले जानकारी दिए।

स्थानीय वासिन्दाले शव देखे लगत्तै प्रहरीलाई जानकारी गराएपछि इनर्वा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले युवकको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। हाल शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल राखिएको छ ।

घटनास्थलबाट प्रहरीले दुई वटा घडी बरामद गरेको छ भने घटनास्थलमा लछारपछार भएको जस्तो देखिएकाले कुनै बिबादको कारण घटना भएको हुन सक्ने आशंका गरिएको छ। हत्या भएका व्यक्तिको सनाखत हुन नसके पनि घटना बोर्डर छेउमै भएकाले भारतीय नागरिक हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.