|
प्रतीकात्मक तस्विर

मान्म : कालिकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्रीमहादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले एक विद्यार्थीको मृत्यु भएको छ। विद्यालयका एक तिहाइभन्दा बढी विद्यार्थी बिरामी छन्।

सामान्य रोग भनेर बेवास्ता गर्दा कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापाको बुधबार ज्यान गएको र हाल विद्यालय विद्यालय बन्द गरेको प्रधानाध्यापक भद्रबहादुर सिंहले जानकारी दिए। ‘हामीले जिल्ला अस्पताल कालीकोट र नगर अस्पताललाई पनि खबर गरेका छौँ’, उनले भने, ‘दुई विद्यार्थीको उपचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र एक जना विद्यार्थीको कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ।’

विद्यालयमा ३२७ विद्यार्थी अध्ययन रहेकामा तीमध्ये १३० विद्यार्थी बिरामी रहेको सहप्रधानाध्यापक धर्मचन्द्र कोइरालाले जानकारी दिए। ‘केही समयदेखि विद्यार्थीमा अनुहार सुनिने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ’, उनले भने, ‘धेरै विद्यार्थी बिरामी भएकाले महामारीको रूप हुनसक्छ भनेर अहिले विद्यालय बन्द गर्ने कि के गर्ने भन्नेमा छौँ ।’

विद्यालयमा देखिएको अज्ञात रोगका विषयमा गम्भीररूपमा लिँदै नगर अस्पताल राँचुलीका प्रमुख डा. टंकप्रसाद आचार्यसहितको टोलीलाई विद्यालयमा जान भनेको नगरपालिकाका प्रमुख शंकर उपाध्यायले जानकारी दिए। ‘अज्ञात रोग फैलिएको थाहा पाएपछि नगरपालिकाको चिकित्सकसहितको टोली पठाएका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.