|

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि डायलासिस सेवा सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार उद्घाटन गरेका हुन्।

अस्पतालले कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। मिर्गौला रोगीलाई केन्द्रित गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले यहा डायलासिस सेवा दिइने बताए। उनका अनुसार पछिल्लो समय अस्वस्थ खानपानले मिर्गौला रोगी बढ्दै गएका छन्।

अस्पतालले डायलासिस शुरु गरेपछि अब यस क्षेत्रका मिर्गौलाका बिरामीले सहज रुपमा डायलासिस गराउन पाउने भएका छन्। माथिल्लो कर्णालीमा स्वास्थ्य उपचार विस्तार हुनु भनेकै यहाँका बासिन्दाको स्वास्थ्य उपचारमा सुधार हुनु हो।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार डायलासिस मेसिन जडान गरेर औपचारिक रूपमा सेवा सञ्चालन भएको छ। उनले भने, ‘जब मिर्गौला रोगीहरूको मिर्गौलाले काम गर्दैन‚ शरीरबाट छानेर फाल्नुपर्ने फोहोर फालिरहेको हुँदैन। यस्तोमा मिर्गौलाले गर्ने काम मेसिनले गर्छ। त्यही सेवा दिन सुरु भएको डायलासिस सेवाले कर्णालीका मिर्गौला रोगीहरूलाई निकै राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।’

उनले डायलासिस सेवा लिन मिर्गौला रोगीहरूलाई अनुरोधसमेत गरेका छन्। ’मिर्गौलाका बिरामीहरू आउनुहोस्। हामी सेवा दिन तयार भइसकेका छौँ,’ उनले भने।

डायलासिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन। तर कर्णाली प्रतिष्ठानको जनशक्तिको उपयोग गरेर सेवा दिनका लागि एकजना नर्सिङ अफिसर र दुईजना स्टाफ नर्सलाई तालिम दिएर खटाइएको छ। उनीहरूले चिकित्सकहरूको निगरानीमा सेवा दिनेछन्।

यो सेवा अस्पतालले निःशुल्क रूपमा प्रदान गर्ने भए पनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरू निकै महँगोमा सेवा लिइरहन बाध्य थिए।

‘यसअघि सुर्खेत, नेपालगन्ज र काठमाडौंका सुविधासम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरूले डायलासिस सेवा लिइरहेका थिए। उनीहरूले अब घरपायक सेवा पाउने भए। यो खुसीको कुरा हो,’ निर्देशक रोकायाले भने।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलासिस मेसिन दिएको छ। जसमध्ये २ मेसिनमात्र प्रयोगमा ल्याइएको छ। बिरामीको चापअनुसार मेसिनहरू जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.