|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा (जात्रा) बिहीबार निकालिएको छ। नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको सम्झनामा विजयोत्सवको रूपमा जात्रा निकालिन्छ।

यो वर्ष २०३औं जात्रा निकालिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ। जात्रा अवलोकनका लागि हजारौं दर्शनार्थी उपस्थित थिए। विभिन्न वेषभूषा, संस्कृति झल्किने बाजागाजासहितको झाँकी र्‍यालीले तानसेन बजार परिक्रमा गरेको थियो।

रणउजिरेश्वरी भगवतीको रथयात्रा बजारका विभिन्न ठाउँमा घुमाइयो। भगवतीको मूर्तिमा पूजा गर्नेहरूको घुइँचो लागेको थियो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले पनि जात्राको अवलोकन गरे।

जात्रा हेर्न पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही, अर्घाखाँची, काठमाडौँ, पोखरा लगायतका ठाउँबाट दर्शनार्थी आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताए।

भगवती जात्रा पाल्पाको एउटा ऐतिहासिक जात्रा हो। भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। विसं. १८७१–७२ तिर जितगढीमा भएको युद्धमा कर्णेल उजिरसिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।

भगवतीको भाकल गरी युद्धमा गएका सिंहले अंग्रेजलाई परास्त गरेको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकालिने चलन छ। जितगढीको युद्ध ऐतिहासिक मानिन्छ।

युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै  सिन्दूरजात्रा गरी बजार परिक्रमा गराएका थिए।

विसं १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो। जात्राको दिन आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.