|

सुर्खेत : रोजगारीका लागि मलेसिया पुगेका सुर्खेतका एक युवा दायाँ हातका ३ वटा औला गुमाएर घर फर्किएका छन्। तीन वर्षअघि मलेसिया पुगेका सुर्खेत चिङ्गाड गाउँपालिका मटेलाका भूपेन्द्रबहादुर चन्द कम्पनीमा काम गरिरहेको समयमा हातका औला गुमाएपछि नेपाल फर्किएका हुन्।

जेठ १४ गते बिहान १० बजेतिर मलेसियाको केलाङमा रहेको पेपर कम्पनीभित्र काम गर्दा चन्दको दाया हातका औला मेसिनले काटेको थियो। कम्पनीको मेसिन सफा गरिरहेका बेलामा मेसिनले हात तानिदिएपछि हात निकाल्न सफल भएको भए पनि ३ वटा औला भने मेसिनले लगेको चन्दले बताए।

क्षतिपूर्तिको खोजीमा चन्द

आर्थिक अवस्था कमजोर भएकाले कक्षा १० सम्मको पढाइ मात्रै पूरा गरेका चन्द परिवारका जेठा छोरा हुन्। परिवारको पालनपोषण गर्ने जिम्मेवारी भएका चन्दका २ छोरा छन्। आफ्ना २ छोरा र परिवारको पालनपोषणका लागि मलेसिया पुगेका भूपेन्द्र अहिले क्षतिपूर्ति खोज्दै काठमाडौंमा भौतारिरहेका छन्।

ऋण काढेर विदेश गएका चन्दले मेनपावरलाई १ लाख ३६ हजार रुपैयाँ बुझाएका थिए। चन्दले आफुलाई विदेश पठाउने मेनपावरले कुनै क्षतिपूर्ति नदिएको गुनासो गरे। उनी अहिले क्षतिपूर्तिको लागि मेनपावरको खोजीमा लागिपरेका छन्। कम्पनीमा काम गर्दा अवैधानिक भएर काम गरेको भएकाले कम्पनीबाट कुनै सहयोग नपाएका चन्दले क्षतिपूर्तिका लागि मेनपावरवालालाई खोजी गरिरहेको बताएका छन्।

अवैधानिक भएरै काम गरेँ

विदेश जानुभन्दा अगाडि तालिम लिएर जाने भनिए पनि मेनपावरवालाले तालिम बिना नै चन्दलाई मलेसियामा काम गर्नको लागि पठाएको थियो। जानेबेलामा भनेको जति तलब विदेशमा नदिएको थिएन, बस्नको लागि गाह्रो भएको चन्दले गुनासो पोखेका छन्। भने जतिको तलब नदिए पछि नेपाल फर्काइदिनका लागि मेनपावर आग्रह गरे पनि नेपाल फर्किनलाई कसैले सहयोग नगरे पछि आफू त्यही काम गर्न बाध्य रहेको सुनाए।

१० महिनादेखि उक्त कम्पनीमा कार्यरत चन्द र उनीसंगै गएका ५ जना नेपालीहरु पनि अवैधानिक भएर नै काम गरेका थिए। नेपाल फर्किन सक्ने अवस्था नभएपछि उनीहरुले अवैधानिक रुपमै लुकिछिपी काम गरिरहेका थिए। हातका ३ वटा औला गुमाएपछि चन्द मलेसिया दूतावास, विभिन्न संघसंस्था, नेपालीहरुको सहयोगबाट गत असार ८ गते नेपाल फर्किएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.