|

पर्वत :मोदी गाउँपालिका वडा नं. ८ तिलाहारमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। धान रोप्न मेलामा गएको बेला शौच गर्न जाने क्रममा भीरबाट लडेर २९ वर्षीया  रिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए। 

उनलाई उपचारको जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको मृतक राईका श्रीमान ओमबहादुर कामीले जानकारी दिए। राई शौच गर्ने क्रममा अचानक भीरबाट लड्दा झण्डै ९० मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृतक राईको शव पोष्टमार्टमको लागि अंचल अस्पताल बागलुङ पठाइएको छ। यसैबीच, सोमबार राती मोदी गाउँपालिका वडा नं. १ भूकताङलेमा आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। कुँडो पकाउने क्रममा छोडिएको आगोबाट घरमा आगलागी हुँदा गंगाबहादुर पुनको घर नष्ट भएको प्रहरीले बताएको छ। आगलागीबाट झण्डै ५ लाख बराबरको अन्न र चौपायाको क्षती भएको छ। 

पर्वतकै कुश्मा नगरपालिका वडा नं. १ पाङमा विद्युत सर्ट भई आगलागी हुँदा लक्ष्मण पौडेलको घर जलेर नष्ट भएको छ। अचानक विद्युत सर्ट भई आगलागी भएको र तत्कालै आगो नियन्त्रणमा लिँदा पनि घरको आधा भन्दा बढी भाग जलेको छ। आगलागीमा परी विभिन्न विद्युुतीय सामान, फर्निचर र गहना गरी झण्डै ६ लाख बराबरको धनमाल नष्ट भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.