|

पाल्पा : ठूलो चौर। एक छेउमा स–साना खरले छाएका झुपडी। अगाडिपट्टी सानो हरियाली जंगल। हेर्दा सानो गाउँजस्तो। कसैले घरवरिपरी सफा गरिरहेका। कोही तास खेलिरहेका। एउटा  घरमा गर्भवती महिलाले अर्की  बिरामी महिलाको हेरचाह गरिरहेको अवस्था। एक्कासी आगलागी भएपछि भागाभाग भयो। कोही रोइरहेका थिए। कसैले गुहार मागिरहेका थिए। केही युवा आगो निभाइरहेका थिए। गाउँलेले मात्रै निभाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली आगो निभाउन आयो। दमकल समेत पुग्यो। साथमा एम्बुलेन्स पनि।

तानसेनको टुंडिखेलमा शनिबार बिहान यस्तै दृश्य देखिन्थ्यो। मादक पदार्थ सेवन गरेकाले चुरोट सल्काउँदै गर्दा सामुदायिक वनमा आगो लाग्यो। त्यो आगो सल्किंदै वस्तीमा पुग्यो। केही घर जले। त्यही आगो निभाउन सबै जुटे।

यहाँ वन जंगल वा घरमा आगलागी हुँदा कसरी नियन्त्रणमा लिने भन्ने  बारे अभ्यास गरिरहेका थिए। सुरक्षाकर्मीले कुनकुन उपकरण  प्रयोग गरेर आगलागी नियन्त्रण गर्छन् भन्ने रिहर्शल प्रदर्शन गरिएको थियो। ग्यासमा सल्केको आगो कसरी निभाउने भन्नेबारे जानकारी गराइएको थियो।

जिल्ला सुरक्षा समितिको आयोजना र तानसेन नगरपालिकाको समन्वयमा आगलागीजन्य विपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम भएको हो। पाल्पामा आगलागीका घटना वर्षेनी हुन्छ। यस्ता अभ्यासले आगलागी नियन्त्रण गर्नका सीप तिखारिने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए।

यस्ता अभ्यासले क्षेतीलाई न्यूनीकरण गर्ने सहयो पुग्ने तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा सिङ्जालीले बताइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.