|

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सशस्त्र प्रहरी बलको विशेष टोलीसँगै अभ्यास गरिरहेका थिए। एक जना छात्रा बिरामी परेको अभिनय गर्दा अरू छात्राहरूको टोलीले ‘ब्लाङ्केट’ ओछ्याए, त्यसमा सुकेको बाँस राखेर पट्याएपछि ‘स्ट्रेचर’ तयार भयो।

बिरामीलाई ‘स्ट्रेचर’ मा राखेर घुमाउँदा सशस्त्र प्रहरीको टोलीले बिरामीलाई उठाउने र पाइला चाल्ने तरीकाको बरेमा सिकाइरहेको थियो। यो दृश्य धेरै विद्यार्थीहरूले नियालिरहेका थिए किनकि दैनिक जीवनमा जुन कुनै बेला पनि यस्तो गर्नुपर्ने स्थिति आउन सक्छ।

आपतकालिन अवस्थामा कसैको पनि उद्धार गरेर स्वास्थ्य संस्था वा सुरक्षित स्थानसम्म लैजान सिकाएपछि ए.पी.एफ.को टोलीले खाना पकाउन प्रयोग गरिने ‘एल.पी. ग्याँस’ का कारण घरमा हुन सक्ने आगलागी र त्यसको नियन्त्रणका बारेमा सिकायो। उद्धारकर्ताहरूको टोलीले ‘ग्याँस’ को ‘पाइप’ र ‘रेगुलेटर’ बाट ठुलो मुस्लोको रूपमा निस्किएको आगोलाई एक मात्रै औँलाको प्रयोगले नियन्त्रणमा लिएको देख्दा विद्यार्थीहरूले रमाइलो मानेर हेरे। आफ्नै दैनिकीसँग जोडिएको विषयवस्तु भएर पनि होला उद्धारकर्ताहरूले प्रयोग गरेर देखाएका तरिकाहरूलाई उनीहरूले अक्षरशः सम्झना गर्न प्रयास गरिरहेको देखिन्थ्यो।

ग्याँसबाट ह्वारह्वारती आगो बलिरहेको बेलामा एउटा सामान्य बाल्टिनको प्रयोगले तत्कालै आगो नियन्त्रणमा लिन सकिने सिकाई पनि विद्यार्थीका लागि आकर्षक थियो। घरमा प्रयोग भइरहेको ग्याँसमा आगो लागेको बेलामा प्रायः बाहिर भाग्ने र अरूलाई गुहार्ने गरेको मात्रै देखिन्छ। तर सशस्त्र प्रहरीले प्रयोगात्मक रूपमा देखाएपछि भाग्नुको सट्टा सुरक्षित तरिकाले एक्लैले आगो नियन्त्रणमा लिन सकिन्छ भन्नेमा आफूहरू ढुक्क भएको विद्यार्थीहरू बताउँदै थिए। चिसो तन्ना वा अन्य सूतीको कपडाले आगो बलिरहेको स्थानमा ढपक्कै ढाक्दा अक्सिजनको अभावमा आगो निभिहाल्ने तरिका पनि विद्यार्थीहरूले सिके।

खाना पकाउने ग्याँसका कारण हुने आगलागीका घटनाहरू धेरै ठाउँमा भइरहेको परिवेशमा यसलाई ‘डेमो’ को रूपमा देखाउँदा समस्या न्यूनीकरण गर्न सकिने विश्वासका साथ विद्यार्थीको माझमा आगलागी नियन्त्रणको बरेमा सिकाइएको सशस्त्र प्रहरी बल नं. २५ गण हेडक्वार्टरको गणपति एस.पी अरबिन्द्र श्रेष्ठले बताए।
अब चाडपर्वको समय सुरु भएसँगै विद्यार्थीहरू घरमा फर्किन्छन्। चाडबाडको बेला नजिकिएसँगै विद्यार्थीहरू पनि चाडपर्व मनाउन घर जाने बेला हुन लागेको छ। यो बेलामा विभिन्न परिकारहरू तयार गर्न आगोको प्रयोग ज्यादा हुने र एक जना विद्यार्थीले मात्रै आफ्ना धेरै जना छिमेकीलाई आगो नियन्त्रणको बरेमा सिकाउन सक्ने भएकाले विद्यार्थीहरूको माझमा नै ‘डेमो’ देखाइएको श्रेष्ठको भनाइ छ।

विद्यार्थीहरूकै माझमा रहेका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले पनि आपतकालिन सङ्कटको बेलामा अपनाउनुपर्ने विधिको पालना गर्नका लागि दिइने ज्ञानको सञ्चार गर्न विद्यार्थीहरू उत्तम माध्यम भएको बताए। फेरि अहिले र भविष्यका उद्धारकर्ताहरू तिनै विद्यार्थीहरू हुने भएकाले उनीहरूलाई जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन र उद्धारको बारेमा धेरै ज्ञान दिनुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.