|

फुङ्लिङ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन्। मंगलबार आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन्। 

चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले बताए। महतका अनुसार दसैँको नवरात्र अवधिभरमा एकै दिन छ हजार छ सयले दर्शन गरेका थिए।

दर्शनार्थी बढी भएपछि केही समय मन्दिर दर्शनको लाइन व्यवस्थापनसमेत हम्मे परेको महतले बताए। पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्धन समितिको अगुवाइ र समन्वयमा मन्दिर दर्शन प्रक्रिया सहज बनाउन सहयोगीले भूमिका खेल्दै आएका छन्। 

बडादशैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार तीन सय ६८ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

दशैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य याम मानिन्छ । यो वर्ष दशैँपछि भने दर्शनार्थी बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको, सडकसमेतमा मर्मतसम्भार र स्तरोन्नतिको कार्य चलिरहेको र आउँदा जाँदा समस्या कम हुन थालेपछि दर्शनार्थी थपिन थालेका हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.