|

सुर्खेत : कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालयमा खुला चौरमा कक्षा सञ्चालन भएको छ।

बारेकोट गाउँपालिका–६ धुमास्थित कक्षा ४ पढ्ने सविन चलाउनेले घरको अवस्था देख्दा बैराग लाग्ने गरेको बताए। त्रिपालमुनि बसिरहेका उनको घर भत्किएपछि किताब पुरिएका छन्।

घरभित्रको सामान निकाल्न नपाएको चलाउने परिवारले अहिले खुला आकाशमा त्रिपाल टाँगेर रातदिन कटाइरहेको छ। सबै सामग्री घरमै पुरिएपछि चलाउने परिवार एकसरो कपडामा रहेको छ। सरकारले अस्थायी संरचना बनाइदिने समाचार सुनेपछि केही आशा पलाएको उनीहरूको भनाइ छ। विद्यालय पनि पूरै भत्किएका कारण छोराछोरी कहाँ पढाउने भन्ने दोधारमा परेको प्रदीप चलाउने बताए।

बारेकोटमा अझै आपत्‌कालीन सिकाइ केन्द्र निर्माण नभएकाले खुला आकाशमा कक्षा सञ्चालन भएका छन्। विद्यार्थीहरू कक्षामा अझै नआएको शिक्षकले बताएका छन्।

भूकम्पको केन्द्रविन्दु समेत रहेको बारेकोटमा मानवीय क्षति नभएपछि भौतिक क्षति व्यापक रहेको छ। कुनै पनि विद्यालय सग्लो अवस्थामा नरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।

‘हरेक गाउँमा जाँदा विद्यार्थी त्रिपालमा बसेको देख्छु, विद्यालय सञ्चालन गर्न हामीसँग बजेट छैन? सहयोगी निकायले तत्काल बारेकोटमा अस्थायी केन्द्र निर्माण गरी विद्यालय सञ्चालन गर्न अनुरोध गर्दछु’, अध्यक्ष गिरीले बताए। बारेकोट दुर्गम पालिका पनि हो। यहाँ विद्यालय बनाइदिने सहयोगको खाँचो रहेको छ।

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा विद्यालयमा यूनिसेफले अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ। अन्य ठाउँका विद्यालय चर्किए पनि बारेकोटका सबै विद्यालय भत्किएको अवस्थामा रहेका छन्। बारेकोटमा मात्र ४४ विद्यालयका ३१७ कक्षा कोठा ध्वस्त भएपछि विद्यालयको खाली रहेको ठाउँमा खुला आकाशमा कक्षा सञ्चालन भएको अध्यक्ष गिरीले बताए।

११९ वटा शौचालय पनि काम नलाग्ने गरी भत्किएका उनले बताए। तत्काल १७३ वटा आपत्‌कालीन सिकाइ केन्द्र निर्माण भए मात्र कक्षा सञ्चालन गर्न सकिने उनले बताए। शिक्षकहरू आए पनि ९ हजार ८६६ विद्यार्थी अहिले विद्यालयमा आउन नसकेको उनले बताए। दशैँतिहारमा बन्द भएका विद्यालय हिउँदमा सञ्चालन हुने गरेका थिए। हिउँद अधिकांश पढाइ हुने समय हो।

आपतकालीन अवस्थामा विद्यालय खुले पनि अधिकांश विद्यार्थीलाई कापी, किताब र पोशाक आवश्यक रहेको छ। जाजरकोटमा ४२३ विद्यालयमा क्षति भएको छ। भेरीमा ५५, नलगाडमा ७१, छेडागाडमा ५३, कुशेमा ५५, शिवालयमा ४०, जुनिचाँदेमा ६५ विद्यालयमा क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञेश्वर खत्रीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.