|

चितवन : जिल्लाको पहाडी क्षेत्रका किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्।

चिउरीको बोटमा यतिबेला फूल खेल्न शुरु भएको छ। रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा २०० घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन्।

‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ’, उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ।’ उनले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताए।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए। ‘विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ’, उनले भने, ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ।’

उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए। चरन क्षेत्रमा पनि जंगली जनावरले दुःख दिने उनको अनुभव छ। मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढ्ने थापाले बताए। ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ’, उनले भने, ‘जिन्दगीको सबैभन्दा आनन्द यही हो।’

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ। यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए।

उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन्।

जंगली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो। चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउँछन्।

उनका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ। व्यावसायिक रूपमा भने मेलिफेराको पालिन्छ। चितवन  मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.