|

संखुवासभा : सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा आगामी फागुन १५ देखि १९ गतेसम्म प्रतियोगिता हुने भएको हो। 

मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गरी संघले प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम तय भएको जनाएको छ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने जिल्ला भलिवल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए। 

प्रतियोगिताको विजेताले तीन लाख, द्वितीयले एक लाख ५० हजार, तृतीयले ५० हजार रुपैयाँ र चौथोले ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ। त्यसैगरी उत्कृष्ट पाँच विधामा जनही ५० हजार र सर्वोत्कृष्ट पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता सफल बनाउन राष्ट्रिय भलिवल संघका केन्द्रीय सदस्य प्रविण श्रेष्ठलाई खेल संयोजक बनाइएको आयोजकले जनाएको छ। 

भलिबल प्रतियोगितामा करिव नगद ५० लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ। खेलकुदका माध्यमबाट आर्थिक समृद्धि र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको अध्यक्ष घिमिरेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.