|

बझाङ : बझाङको थलारा गाउँपालिकाले पाँच वर्षभित्र युवाहरूलाई पालिकामै रोजगारी दिने गरी रोजगार नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए।

बुधबार एक कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले देशमा आन्तरिक रोजगारी पर्याप्त नभइरहेको अवस्था वैदेशिक रोजगारीमा गएका नेपाली पनि फर्कने अवस्था देखिएकाले पालिकामै रोजगारी सृजनामा जोड दिइने बताएका हुन्।

अहिले पालिकामा कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना र मझौला उद्योग, निर्माण र सेवा क्षेत्रमा समावेश गरेर रोजगारी दिने खालको नीति बनाउन विज्ञहरूसँग छलफल भइरहेको अध्यक्ष रोकायाले बताए।

उनले भने, ‘पाँच वर्षमा थलारा गाउँपालिकामा रोजगारको नीति कस्तो बन्ने, थलारा गाउँपालिकामा पाँच वर्षमा कति जनालाई स्वरोजगार बनाउन सक्छ भन्ने विषयमा विज्ञहरू बोलाएर थलारा गाउँपालिकामा रहेका विभिन्न कृषि समूह तथा सञ्जालका अगुवाहरू, केही बौद्धिक व्यक्तिको बीचमा र कार्यपालिकाको टिमसँग छलफल चलाइरहेका छौँ।’

यो समस्या थलारा गाउँपालिकाको मात्रै नभएर राष्ट्रिय समस्या भएको अध्यक्ष रोकायाले बताए।

उनले भने, ‘अहिले पनि हरेक दिन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरने युवाको संख्या बढ्दो छ। त्यसलाई कसरी रोक्ने त्यसको प्रयत्नका लागि हामी लागेका छौँ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.