|

इलामः १५ वर्षअघि सुरक्षाको कारण देखाउँदै इलामबाट लगिएको टिष्टा जितेको प्रमाण नेपाली सेनाको निशान पुनः इलाममा स्थापना गरिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् इलामको ठूलो टुँडिखेलमा ल्याइएको निशानलाई विभिन्न जातजातिका झाँकीसहित माईस्थान मन्दिरमा वैदिक विधिअनुसार पूजा गरी निशान घरमा भित्र्याइयो।

नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणको रूपमा रहेको निशान २०५९ बैशाख २६ गते सुरक्षाको कारण देखाउँदै श्रीनाथ पल्टनले आफूसँगै लगेको थियो। वि.सं. १८८५ मा सुगौली सन्धिपछि इलाममा क्याम्प स्थापना गरी बसेको श्रीनाथ पल्टनको निशान १५ वर्षपछि पुनःस्थापना भएपछि उत्सवको आयोजना गरी चारवटा निशान भित्र्याइएको हो।

निशानलाई कालीध्वज गणका गणपति प्रमुख सेनानी प्रकाश लामिछानेले पूजा गरी निशान घरमा भित्र्याएका थिए।

निशान राख्नका लागि भनेर माईस्थान क्षेत्र धार्मिक विकास समितिको अगुवाइमा कालीध्वज गणको सहयोगमा १३ लाख रुपैयाँको लागतमा पुरानो निशान घरको जीर्णोद्धार गरिनुका साथै १२ लाख रुपैयाँ बढीको लागतमा माईस्थान मन्दिरमा तामाको छानो लगाइएको छ।

सेनाले आफ्नो पल्टन÷गणको सरुवासँगै निशान लाने गरे पनि इलाममा त्यसपछि फेरिएका गणहहरूले भने निशान लगेका थिएनन्। १८५ वर्षसम्म निशान माईस्थान मन्दिरमा नै राखिएको थियो।

इतिहासविद् युद्धप्रसाद वैद्य भन्छन्, ‘१८५ वर्षसम्म इलाममा राखिएको निशान श्रीनाथ पल्टनले आफ्नो गणमा लगेपछि लामो संघर्ष गरेर फर्काएका छौँ।’ नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणको रूपमा रहेको निशान फर्कनु इलामको लागि सौभाग्यको कुरा भएको उनले बताए। ‘आगामी दिनमा यसको संरक्षणका लागि इलामवासीहरू तन–मनले लागिपर्ने पनि वैद्यले बताए।

निशान सुरक्षाका लागि भनेर माईस्थान मन्दिरमा १०/१२ जना सेनाको टुकडीसमेत राखिने भएको छ। दैनिक निशानको पूजा गरिनेछ। निशानलाई शक्ति स्वरूपा भगवतीको रूपमा पुज्ने चलन रहेको वैद्य बताउँछन्।

निशान पुनःस्थापना  समारोहमा नेपाली सेनाका कायमुकायम प्रधानसेनापति रथी बलदेवराज महत, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठ, मेची अञ्चल प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीलगायत सेना तथा प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

लिम्बुवानको इतिहास र इलाममा निशान स्थापना
एकीकरणपूर्व इलाम विजयपुर राज्यअन्तर्गत पल्लो किरातमा पर्दथ्यो। पल्लो किरातमा अरुणपूर्व टिष्टासम्मको भाग पर्दथ्यो। सेन राज्य स्थापनापूर्व लिम्बूवान इलाका दश लिम्बूवानमा विभाजित थियो। दश लिम्बूवानको पश्चिममा दूधकोशीदेखि पूर्वमा टिष्टासम्म र उत्तरमा तिब्बतको सिमानादेखि दक्षिणमा पूर्णिया जलालगढसम्म थियो। यही दश लिम्बूवानमध्येको इलाम–चारखोल पनि एउटा लिम्बूवान थियो। यसका प्रमुख इमे हाङ थिए।

इलाम र आङदाङमा गढी थियो। लिम्बूवान गठन भएको समय सातौँ शताब्दी अनुमान गरिएको छ। इलाम लिम्बू र लाप्चा दुई आदिवासी जातिको बसोबास क्षेत्र हो। माई पश्चिम लिम्बू बसोबास क्षेत्र र माई पूर्व लाप्चा बसोबास क्षेत्र हो। यी दुवै क्षेत्रका गाउँहरूको नाम लिम्बू र लाप्चा भाषामा नै छन्।

पन्ध्रौँ शताब्दीमा मोरङका राजा विजयनारायणले लिम्बूवान प्रदेश विजय गरी विजयपुर राज्यको स्थापना गरे। दश लिम्बूवान विजयपूर राज्यअन्तर्गत भएपछि इलाम पनि विजयपूर राज्यअन्तर्गत भयो। त्यस बेला इलामको भाग तमोरदेखि टिष्टासम्म फैलिएको थियो।

सत्रौँ शताब्दीमा विजयपुर राज्यमा राजा र मन्त्रीका बीच कहिले मेल भएन। फलस्वरूप राज्य कमजोर भएको थियो। त्यही गृहकलहको मौका छोपी सिक्किमका राजा फुञ्चो नामग्यालले (१७०४–१७७२) इलामको माई पूर्व टिष्टासम्मको भाग कब्जा गरेका थिए।

नेपाल एकीकरण अभियानमा रामकृष्ण कुँवर र अभिमानसिंह बस्न्यातको नेतृत्वमा आएको नेपाली सेनाले सम्वत् १८३१ असारमा विजयपुर राज्य विजय ग¥यो। फलस्वरूप इलाम पनि नेपाल अधिराज्यमा सम्मिलित भयो। नेपालको पूर्वी सिमाना कन्काई माई र उत्तरमा इसलिम्बा च्याङथापु भयो।

निशान के हो?
नेपाली बृहत शव्दकोशका अनुसार ‘निशान’ शब्द फारसी भाषाबाट प्रविष्ट गरिएको हो। यसको अर्थ कुनै व्यक्ति वा वस्तु चिनाउने लक्षण, चिनु वा चिह्न भन्ने हुन्छ। यसले कुनै वस्तुको पहिचानको लागि चिनोको रूपमा लगाइने छाप वा परिचयात्मक चिह्न भन्ने पनि बुझिन्छ। यो शब्दले पल्टनको परिचयात्मक झण्डा बोक्ने व्यक्ति औ दर्जा भन्ने पनि बुझिन्छ।

प्रत्येक पल्टनको आआफ्नै पहिचानको रूपमा निर्धारित झण्डा हुन्छन्। त्यही झण्डा नै निशान हो। सेनाको निशान–झण्डा हुने परम्परागत मान्यता छ। यो हिमवत् खण्डमा प्रचलित पुराण र महाकाव्यहरूमा (रामायण र महाभारत जस्ता) घटित युद्धहरूमा संलग्न सेनाहरूको आ–आफ्नै विशिष्ट पहिचानका झण्डाहरू थिए।

नेपालका सबै पल्टन, गुल्म अथवा गणहरूको आ–आफ्नै निशान छन्। निशान कुनै पनि गणको पहिचानको प्रतीक हो। शक्तिको स्रोत हो। प्रायः निशानलाई शक्ति स्वरूपा देवीको रूपमा पुजिन्छ। इष्ट देवीको रूपमा पनि ग्रहण गरिएको छ निशानलाई। ‘निशान भगवती’ सम्बोधन गरिन्छ।

एकीकरणको अभियानमा पल्टनको निशान अघि लगाएर सेनाहरू लक्ष्य भेदका लागि बढ्दा संलग्न सबैमा देशभक्ति र समर्पण ओतप्रोत भएकैले नेपाल टिष्टा र सतलजसम्म पुग्न संभव भएको इतिहासविद् वैद्य बताउँछन्। राष्ट्रिय जङ्गी निशान स्पर्श गरेर शपथ गरेकैले राष्ट्रिय एकता र सार्वभौमिकताको  संरक्षण संभव भएको उनको भनाइ छ।

सर्वसाधारण जनताले पनि विपत्ति वा दुर्घटनामा निशान भगवतीको स्मरण गर्ने गरेको स्थानीयवासी बताउँछन्। सीमान्त जिल्ला इलामको लागि निशान गौरवको विषय मान्ने गरिएको पाइन्छ।

इलाममा निशान कहिले आयो?
इतिहासविद युद्धप्रसाद वैद्यले आफ्नो पुस्तक ‘इलाममा निशान पुनःस्थापना’मा उल्लेख गरेअनुसार ‘संवत् १८७०–१८७२ (सन् १८१४–१८१६) मा भएको नेपाल–अंग्रेज युद्ध संवत् १८७२ फागुन २० गते (सन् १८१६ मार्च ४ तारिखमा सुगौलीमा सन्धि गरी समाप्त भयो। सन्धिअनुसार नेपालको पूर्वी सिमाना सिंहलीला पर्वत शृंखलाको पानीढलो र मेची नदी कायम भएपछि इलाम तमोरदेखि मेची नदीभित्र खुम्चियो।

सन्धिको धारा ३ मा पूर्व टिष्टासम्मका पहाड, मधेस सबै भाग छोड्नुपर्ने उल्लेख भएअनुसार सन्धिमा हस्ताक्षर भएको चालीस दिनभित्र नागरी गढी र सम्पूर्ण भाग खाली गर्नुपर्ने भयो। शर्तबमोजिम नेपाली सेना (श्रीनाथ पल्टन पुरानो) नागरीगढी खाली गरी करफोकको पूर्णे डाँडामा आई बस्यो। निशानसहित गढी करफोकमा रह्योे।

सिमानाको नजिक भएको कारण त्यहाँ दुई वर्ष बसी संम्वत् १८७५ मा उपयुक्त स्थानको खोजीमा केही दिन नामसालिङ बसी इलाम डाँडोमा श्रीनाथ पल्टन र निशान स्थायी रूपले स्थापित भएको हो। यो नै इलामको खलंगा (सदरमुकाम) भयो। इलामलाई खलंगा भनी सम्बोधन गरिएको धेरै पुरानो भएको छैन।

‘माईस्थान मन्दिरको प्रांगण अगाडिको ढुंगालाई खलंगा ढुंगा भनिन्छ। जनश्रुतिअनुसार त्यही ढुंगामाथि उभिएर सेना प्रमुखले आदेश उर्दी सुनाउने गर्दथे’, वैद्यले भने, ‘करफोक र नामसालिङलाई पनि सेना र निशान रहेको हुनाले खलंगा भन्ने गरिन्थ्यो।’

नामसालिङमा हिजोआज पनि हात्तीटार प्रावि नजिकको डाँडालाई खलंगा भन्ने गरिएको र बडादशैँ र चैते दशैँमा निशान भगवतीमा पूजा गर्दा करफोकमा पहिले पूजा दिने चलन रहेको उनको भनाइ छ। ‘नागरीमा गढी रहेको डाँडालाई गढी देवी भनी पूजा गर्ने चलन अद्यापि चलेको छ। अब नामसालिङमा पनि हुनुपर्दछ’, उनले भने।

इलाममा गढी (खलंगा) स्थापना भएको आगामी २०७५ मा दुई सय वर्ष पुग्दै छ। दुई सय वर्षको महोत्सव धुमधामसँग मनाइने तयारी रहेको बताइएको छ। यो अवधिमा धेरै पटक विभिन्न पल्टनहरू हेरफेर भए पनि वि.सं १८४२ श्रावण ७ मा रणबहादुर शाहका पालामा गठित नयाँ श्रीनाथ कम्पनी पनि आयो।

२०१५ सालमा इलाममा नै यस कम्पनीका धेरै पदको नियुक्ति पनि भयो। इलाममा नेपाली सेनाको स्थायी व्यारेक गढीथुम्कामा स्थापना भयो। ‘यी परिवर्तनहरूमा पनि टिष्टासम्मको विजयबाहिनी श्रीनाथ पल्टनको निशान भने साविकको स्थान माईस्थान परिसरमा नै रहिरहेको थियो’, वैद्यले भने।

इलामवासीले माई भगवती र निशान भगवतीको आस्थापूर्वक नित्य पूजा अर्चना गरेपछि स्थानीय बासिन्दाले कुनै पनि दुर्घटना वा प्रकोपहरूमा सुरक्षित अनुभव गरेको वैद्य बताउँछन्। इलाममा निशान रहेका बखत हरेक बडा दशैँ र चैते दशैँको नवमीमा निशानको विशेष पूजा हुने गर्दथ्यो।

फूलपातीका दिन बाजागाजासहित निशान अघि लगाएर देउराली डाँडामा फूलपाती लिएर नगर परिक्रमा गर्दै माईस्थान परिसरस्थल निशान मन्दिरमा विधिपूर्वक भित्र्याइने गरेको थियो। नवमीमा विशेष पूजा गर्न इलामभन्दा अघि निशान बसेको पुरानो स्थान करफोकको पञ्चकन्यामा पूजा गर्ने चलन पनि थियो।

(इतिहासविद् युद्धप्रसाद वैद्यसँगको कुराकानी र उनको बुकलेट ‘इलाममा निशान पुनःस्थापना’को सहयोगमा)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.