|

धनगढी : दुई दशकपछि भएको स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाक गृहजिल्लाबाट पराजय सुरु गरेको कांग्रेसले आफ्ना धेरै आधार क्षेत्र गुमाउन पुगेको छ। ८८ स्थानीय तह रहेको प्रदेश ७ मा धनगढी उपमहानगर र कञ्चनपुरको पुनर्बास नगरपालिकाको मत परिणाम आउन बाँकी रहेका बेला कांग्रेस दोस्रो स्थानमा देखिएको छ। यो प्रदेशमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ। 

एमालेले प्रदेश ७ का महत्वपूर्ण नगरपालिकासहित ३८ स्थानीय तहमा जित हासिल गरेको छ। कांग्रेसले अधिकांश नगरपालिका गुमाएर ३७ स्थान प्राप्त गरेको छ। माओवादी केन्द्रले १० स्थानमा जितेको छ भने नेपाल लोकतान्त्रिक फोरमले १ स्थानमा विजय हासिल गरेको छ। 

देउवाको गृहजिल्ला डडेल्धुरा सदरमुकामको अमरगढीनगरपालिका क्षेत्रीय सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका, कांग्रेसभित्र प्रभावशाली देखिने गरेका नेता एनपी साउद र रमेश लेखकको क्षेत्र कञ्चनपुरको भीमदत्तनगर, कृष्णनगरसँगै कञ्चनपुरकै बेलौरी नगरपालिकामा कांग्रेस पराजित भएको छ। 

कैलालीका टीकापुर नगरपालिका, गोदावरी नगरपालिका जस्ता राजनीतिक रुपमा समग्र प्रदेशलाई प्रभावित पार्ने क्षेत्रमा पनि कांग्रेसले पराजय भोग्नुपरेको छ। यसअघि आफ्नो वर्चश्व भएका अधिकांश राजनीतिक आधार क्षेत्र गुमाएको कांग्रेसका लागि आगामी निर्वाचन झन् चुनौतीपूर्ण हुने देखिएको छ। 

'मतदाताको चाहना अनुसार कांग्रेसले आफूलाई परिवर्तन गर्न नसकेको संकेत हो' सुदूरपश्चिम विश्वविद्यालयका पूर्व कुलपति प्रा. डा. हेमराज पन्तले भने 'न चुनावी रणनीति न त जनचाहना अनुसार नै आफूलाई परिवर्तन गर्न सक्यो, जसको परिणाम हो कांग्रेसले आफ्नो परम्परागत आधार क्षेत्र गुमाउनु।' ठूलो संख्यामा थपिएका युवा मतदाताको चाहना अनुरुप कांग्रेस अगाडि बढ्न नसकेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.