काठमाडौँ : २०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढल्यो तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण सुरु हुन सकेन।
धरहरा ढलेको ३ वर्षपछि मात्रै पुनर्निर्माणको काम थालियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए।
निर्माण कार्य थालेको पाँच वर्ष भइसक्दा पनि अझै काम सकिएको छैन। धरहरा निर्माणका लागि जिआइइटिसी–रमन जेभीसँग तीन अर्ब आठ करोड रूपैयाँको सम्झौता भएको छ।
आगामी चैतसम्ममा निर्माणको काम सकेर वैशाखदेखि धरहरामा सर्वसाधारणहरू चढ्न पाउने निमार्ण कम्पनीले दावी गर्दै आएको छ तर अझै १० प्रतिशत काम बाँकी छ।
भौतिक प्रगति विवरण ९० प्रतिशत र वित्तीयमा ७९ प्रतिशत सम्पन्न भएको छ। ‘अब १० प्रतिशत मात्रै काम बाँकी छ,चैतभित्र सकाउने लक्ष्य छ, वैशाखबाट धरहरा सर्वसाधारणहरू चढ्न पाउँछन्,’ रमन जेभीका एक प्रतिनिधिले भने।
उनका अनुसार धरहरा संरचनाको काम सकियो। बगैँचामा रूख रोप्न बाँकी छ। बगैँचाको काम भने ८० प्रतिशत सकिएको छ। म्युजियमको पनि काम बाँकी छ। त्यहाँ राख्ने फलाम शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागले ल्याउन ढिलाइ गर्दा समस्या भएको उनले बताए।
‘फलाम र सिसा हाल्न बाँकी छ,अरू करिबकरिब सकियो,’उनले भने।
उद्घाटन भएको २ वर्ष बित्यो, अझै सम्पन्न छैन धरहरा
अचम्मको कुरा त कुनै पनि संरचना बनिसकेपछि उद्घाटन गर्नुपर्ने हो तर निर्माणको काम नै नसकी २ वर्ष अघि नै उद्घाटन सम्पन्न भइसक्यो।
निर्माणाधीन धरहराको काम नै नसकी जस पाउन तत्कालीन प्रधानमन्त्री ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भयो।
बरू विभिन्न बहानामा समय पटक-पटक सारियो। कहिले २०७७ असार मसान्तमा सक्ने भनियो त कहिले पुनर्निर्माणको काम पुस महिनाभित्र सकिने भनियो।
त्यसबीचमा बरु योजना बनाउने मूल संस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै समय समाप्त भएर हटिसक्यो।
तत्कालिन पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले वैशाख २०७८ मै ६० प्रतिशत काम सकिएको भन्दै बाँकी काम त्यही सालको मंसिर महिनामा सकिने बताएका थिए। उनले भनेका थिए,‘काम तीब्र गतिमा धमाधम भइरहेको छ, बाँकी काम मंसिर महिनामा सकिन्छ।’
उनको कुरा हावामा उड्यो। धरहराको काम सकिएन। अहिले प्राधिकरणको कार्यकाल सकिएपछि शहरी मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागले हेरिरहेको छ।
महानगरले कामदार बस्ने संरचना भत्काएपछि समस्या
काठमाडौँ महानगरपालिकाले धरहरा पुनर्निर्माणमा खटिएका कामदारहरू बस्दै आएको संरचनामा डोजर चलाएपछि यता धरहरा काममा असर पुगेको जनाइन्छ।
महानगरपालिकाले कामदार बस्दै आएको टुँडिखेलको संरचनामा गत बुधबार डोजर चलाएको थियो। अहिले उक्त संरचनाहरू हटाउनमै व्यस्त छन् कामदारहरू।
‘टुँडिखेलको टहरा भत्काएपछि अहिले यतै सार्न लागिएको छ, कामदारहरू त्यही खटिएका छन, यसले गर्दा यता काममा असर पुग्यो,’ ती निर्माण कम्पनीका प्रतिनिधिले भने।
उनका अनुसार अहिले धरहरा निर्माणमा डेढ सय कामदार खटिएका छन्। समयमा सकाउन ६० जना नयाँ कामदार थपिएका छन्। ‘छिटो सक्न राति १० बजेसम्म पनि काम भइरहेको छ,’ उनले भने।
धरहरा वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गरेको इतिहासमा उल्लेख छ।
त्यस समयमा यसको उचाई ११ तला थियो। ९० सालको भूकम्पले भत्काइदिएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले नौ तला कायम गरी पुनः निर्माण गरेका थिए।
पुरानो धरहराअगाडिको ४२.२ रोपनी क्षेत्रफलमा यतिखेर धरहरा पुनर्निर्माण भइरहेको छ। धरहरामा भर्याङ चढेर मात्र होइन, लिफ्टबाट पनि उक्लिन सकिने छ। धरहरामा अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ। बेसमेन्टमा तल–माथि गर्नका लागि लिफ्टको व्यवस्था गरिनेछ।
धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ। म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरू प्रदर्शनीमा राखिनेछ।
म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ। वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ। प्रदर्शनी हल र चमेना गृह बनाउने पनि योजना छ।
(याे पनि)
तपाईंको ईमेल गोप्य राखिनेछ ।