|

नवलपुर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको टरुवा तालको अस्तित्व संकटमा परेको छ। पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ।

कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताए। ‘स्थानीले कहिलेकाहीँ सफा गर्छन्। फेरि झार आउँछ। अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो’, उनले भने। 

करिब ३.५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ। ताललाई जलकुम्भी  झारले ढाकेर अस्तित्व नै संकटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन। 

तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए। तालको संरक्षणका लागि केही समयअघि योजना अघि बढेको भन्ने सुने पनि खास काम नभएको उनले बताए। ‘पहिले एकपटक सफा गर्ने, ताललाई राम्रो बनाउने भनेर डोजरसमेत  ल्याएर अलि अलि काम गरेथे, पछि के भयो, त्यतिकै छाडे, पूरा काम भएन, ताल उस्तै रह्यो’, स्थानीय महतोले भने। 

‘टरुवा ताल सफा गरेर राम्रो बनाउन सके ताल हेर्न धेरै मानिस आउँथे वरपर व्यापार व्यवसाय बढ्ने थियो। स्थानीयसँगै सरकारलाई समेत आम्दानी हुने थियो’, स्थानीय केशकुमारी महतोले भने। ताललाई झारले ढाक्दै गएकाले यसको संरक्षणको पहल गर्नुपर्ने उनले बताए। 

पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको टरुवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ। कावासोती बजार विकासको प्रारम्भकालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यही तालको पानी प्रयोग गर्थे। 

अन्य पानीको कुनै स्रोत नभएको र टरुवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले शुरु शुरुमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गर्थ्यो। पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि  पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो। 

तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके जिल्लाकै महत्त्वपूर्ण स्थल बन्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए। उनले ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ संरक्षणका लागि स्थानीय बासिन्दासँगै स्थानीय सरकार लाग्नुपर्ने बताए। ताललाई जलकुम्भी  झारले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती–७, का वडाअध्यक्ष गोविन्दप्रसाद महतोले बताए। 

कावासोती नगरपालिकाले टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यो वर्ष ५० लाख विनियोजन गरेको वडाध्यक्ष महतोले जानकारी दिए। ‘टरुवा ताल संरक्षणका विषयमा छलफल र बहस चलेका छन्, मुख्य कुरा बजेट आवश्यक पर्ने रहेछ’, अध्यक्ष महतोले भने, अहिले थोरै विनियोजन भएको छ, केही काम यस वर्ष होला।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.