कहिल्यै मनाउँदैनन् दशैँ
कहिल्यै मनाउँदैनन् दशैँ
काठमाडौं : ललितपुर जिल्लाको जावलाखेलबाट ५ किलोमिटर दक्षिणमा पर्ने पुरानो बस्ती हो खोकना। यो बस्ती अझै पनि तोरीको तेलका लागि अति प्रख्यात छ। सँगसँगै धार्मिक, ऐतिहासिक सांस्कृतिक हिसाबले पनि उत्तिकै चर्चित छ।
पछिल्लो समय आधुनिकतासँगै परम्परागत रहनसहन, दैनिकी, संस्कृति हराउँदै गइरहेको छ। तर खोकनामा अझै मौलिक संस्कारहरू कायमै छन्। उनीहरूका दैनिकी, रहनसहन, बोलीचाली, भेषभूषा पुरानै शैलीमा छ।
शनिबार शिक्षा पत्रकार सञ्जाल(इजोन)को पिकनिक अवसरमा खोकना क्षेत्रमा एक चक्कर लगाउँदा कोही आमा तान बुनिरहेका थिए। कोही सुकुलमा घाम ताप्दै थिए। कोही मठमन्दिर पुनर्निर्माणमा व्यस्त थिए। उनीहरू सबैभन्दा ठूलो मन्दिरको रूपमा रूद्रायणी मन्दिरलाई मान्छन्।
२०७२ सालमा आएको भूकम्पले क्षति पुर्याएपछि अहिले त्यहाँ धमाधम पुनर्निर्माण भइरहेको छ। उक्त मन्दिरको लागि टुँडाल बनाइरहेको बेला भेटिए लक्ष्मीदास महर्जन। उनी बुटाकर्मी हुन्।
३२ वर्षदेखि बुटा भर्ने काम गर्दै आएको बताउँदै उनले सुनाए, ‘एउटा टुँडाल बनाउन २५ दिन लाग्छ। मैले यस्तो बनाएका टुँडाल जर्मनी, अमेरिका पुग्छ, एउटा बुटा भरेबापत ४०/५० हजार पाउँछु।’
त्यस क्षेत्रका अधिकांश नेपाली भाषा बुझ्दैनन्। परम्परागत शैलीमा बनेका घरहरू प्रशस्त छन्। स्थानीय ज्ञानभक्त दंगोलका अनुसार करिब हजार घरधुरी छन्।
‘अरू जातजाति कोही छैनन्‚ नेवारी घरहरू मात्रै छन्। यो प्योर नेवारी बस्ती हो, यहाँको दैनिकी, रहनसहन, बोलीचाली, भेषभूषा, बिहानदेखि बेलुकासम्मको गतिविधि बोलीचाली प्योर नेवारी छ। त्यसैले यो ठाउँ नेपालभरिकै एउटा जीवित संग्रहालय हो,’ उनले दाबीका साथ भने।
खोकना बस्तीको किंवदन्ती
स्थानीय दंगोलका अनुसार ‘खोखो’ नेवारी शब्दको अर्थ ‘रूँदै रूँदै’ भन्ने हो। रूँदै रूँदै आएर बसेको बस्ती भएर खोकना भएको किंवदन्ती छ।
उनले किंवदन्तीमा उल्लेख भएअनुसार भने, ‘पचली भैरवमाथि कुनै बेला एक परिवारमा एक जना श्रीमान बित्यो भनेर चिहानमा राखियो, त्यो बेला सती जाने प्रथा थियो। यो प्रथाले गर्दा श्रीमती पनि जल्नु पर्याे, दुवै जनालाई चिहानमा राखियो, एकछिनपछि ठूलो हावाहुरी चल्यो, त्यो बेला ठूलो रोग थियो, त्यो रोगले वास्तवमा श्रीमान मरेको थिएन, बेहोस मात्रै भएको हुन्छ। त्यसपछि उनीहरू बिलौना गर्दै, यहाँ बसे मार्छन् भनेर खोलैखोला हिँड्दै आएर कुदेशमा आएर बस्ती बसाल्नु भयो, उहाँहरूकै सन्तती हामी हौँ भन्ने भनाइ छ।’
उनका अनुसार खोकना बस्ती छिर्ने २ वटा प्रवेशद्वार छन्। बस्ती नै स्वस्तिक आकारमा बसेको छ।
खोकनावासी मनाउँदैनन् दशैँ
प्रत्येक वर्ष देशभर हर्ष उल्लासका साथ दशैँ मनाइरहँदा यो बस्तीमा कहिलै दशैँ मनाइँदैन। ‘दशैँ शुरू हुनुभन्दा अगाडि जात्रालगायतका पूजापाठ भइसकेको हुन्छ। प्रत्येक वर्षको अष्टमीको दिन सिकालीमा जात्रा हुन्छ। त्यसपछि अन्त दशैँ मनाउनुहुन्छ, हामी जमरा राख्दैनौँ, दशैँ नै मनाउँदैनौँ। त्यही भएर यो युनिक ठाउँ छ,’ दंगोलले भने।
उक्त क्षेत्रमा लसुन रोप्न नमिल्ने भनिए पनि पछिल्लो समय नयाँ आधुनिक घरहरू बनिरहँदा लसुन भने रोपेको देखियो। यस विषयमा उनले भने, ‘लसुन खान्छौँ तर गुठीलाई चल्दैन, गुठीका सदस्यहरूलाई चल्दैन,’ उनले भने।
खोकनाकै कला संस्कृतिको जगर्ना गर्दै पर्यटकहरूलाई चिनाउन खोकना पर्यटन महोत्सवसमेत आयोजना गर्छन् उनीहरू। जहाँ नेवारी परिकारहरू बनाइएका हुन्छन्।
खोकनाका गल्लीहरूमा ऐतिहासिक मुकुन्डो, ढकी (खोस्ता), थो सोमा (रक्सी थाप्ने भाँडो), सिँ फ (पाथी) लगायत सामग्री नेवा संग्रहालय बनाइ सजाइएका हुन्छन्।
‘खोकनाकै सिकाली मन्दिर, चौर धार्मिक आस्था हो। त्यहाँ पनि जात्रा हुन्छ, मठमन्दिर, गुठी छन्, यसैगरि हामीले यी सबै हाम्रा परम्परागत संस्कार, संस्कृतिको संरक्षण गर्दै आएका छौँ,’ स्थानीय दंगोलले भने।
तर सरकारकाे काठमाडौं–तराई (मधेश) द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाले उनीहरू चिन्तित छन्। २०७७ असारमा खोकनास्थित खेतमा धान रोप्न गएका स्थानीय किसान र प्रहरीबीच झडप नै भएको थियो।
फाष्ट ट्रयाक विवाद : यसकारण आन्दोलित छन् खोकनावासी। त्यसैले याे फाष्ट ट्रयाक नबनाउनुपर्ने माग खाेकनावासीकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।