|

दाङ :  तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा रहेको  प्रादेशिक आयुर्वेद चिकित्सालयलाई  अहिले बिरामी भर्ना लिनै मुस्किल भएको छ। अस्पतालमा भर्ना हुन बिरामीहरूले  पालो कुर्ने अवस्था आएको आएको छ।  ३० बेडसम्म मात्र स्वीकृत पाएको अस्पतालमा अहिले ३५ जना बिरामी भर्ना भएका छन्।  

कुनैबेला वैद्य र कविराजले चलाउँदै आएको बिजौरी आयुर्वेद चिकित्सालयमा अहिले नेपाल सरकारले  नै ४  जना विशेषज्ञ चिकित्सकसहितको दरबन्दी तोकेको छ।  तर,  पनि सरकारी तहबाट बिजौरी अस्पतालमा एक जना मात्र विशेषज्ञ चिकित्सक छन्, त्यो पनि निमित्त निर्देशक  डाक्टर सन्तोष कुमार ठाकुर।

बाँकी विशेषज्ञ चिकित्सक अस्पतालले आफै व्यवस्थापन गर्दै आएको छ। सरकारले तोकेका दरबन्दी जनरल, बालरोग, स्त्रीरोग र कार्याचिकित्सकको दरबन्दी पुरा हुन नसकेपछि यी सेवाका लागि अस्पतालले आफ्नै पहलमा विशेषज्ञ चिकित्सकबाट सेवा दिइरहेको छ।

पछिल्लो समयमा बिरामीहरूलाई आयुर्वेद चिकित्सा प्रतिको विश्वास बढ्दै गएको छ। रोगको दीर्घकालीन समस्याको समाधानसँगै निरोगी बन्नका लागि आहार विहार, व्यायाम र योगालाई समेत सो अस्पतालले अंगीकार गर्दै आएका छ। यहीँ कारण अहिले दाङ जिल्लाका मात्र नभएर समग्र लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका बिरामीहरूको पनि आयुर्वेद उपचारको अस्पताल गन्तव्य बनेको छ।  

भर्ना हुनुपर्ने बिरामीको चाप बढेपछि थप दुई वटा बेड व्यवस्थापन गरी सेवा दिइरहेको  अस्पतालका निमित्त निर्देशक डाक्टर ठाकुरले बताए। उनका अनुसार  कतिपय बिरामीलाई भर्नाका लागि पछि आउन भनेर फर्काउनु परेको छ। दैनिक ७ वटासम्म अप्रेसन गर्न सकिने भएयता पनि बेड अभावका कारण  नभएको उनको भनाइ छ।

यस्तै उनले अस्पताललाई प्रदेश सरकारले ५० बेडसम्म  बनाउने भनेर विगत २ वर्षदेखि भन्दै आएको भएयता पनि अहिलेसम्म कुनै काम नभएको भन्दै आफूहरूले पहल गरिरहेको बताए।

अस्पतालमा विशेषगरी पायल्स, फिस्टुला, फिसर र ववासिरका बिरामीहरूको संख्या बढी छ। किनकी पायल्स र फिस्टुलाको क्षारसूत्र विधिबाट शल्यक्रिया गराउनका लागि बिरामीहरूको बढी चाप हुने गरेको छ।  

एलोप्याथिक चिकित्सामा नेपालगन्ज मेडिकल पश्चिम रुकुमका पदम बहादुर खड्काले नेपालगन्जको भेरी अस्पतालमा उपचार गर्दा कुनै निको हुने संकेत नदेखिए पछि अहिले यही अस्पतालमा भर्ना भएका छन। पाइल्सका बिरामी खड्काले नेपालगञ्जमा ८/ १० हजार खर्च भएको बताए। पहिलो पटक यहाँ आएकोले निको हुनमा आशा पलाएको बताए। उनलाई क्षारसूत्र  को शल्यक्रियाका लागि कम्तिमा एक साता पालो कुर्नु परेको थियो।

उनीजस्तै रोल्पाका हाडजोर्नीको समस्या भएका अर्का बिरामी तारादेव वलीले पनि अस्पतालको सेवा प्रति सन्तुष्टि व्यक्त गरे। उनलाई चिकित्सकहरूले पञ्चकर्म तथा फिजियोथेरापीबाट उपचार गराइरहेका छन्। करिव एक हप्ता भन्दा बढी तेल पानीको बाफले सेक्ने गरिएको छ। पछिल्लो एक सातामा उनको घुँडा दुख्ने समस्या पूरै निराकरण भएको पनि स्वयम्ले बताए। अब एक दुई दिनमै डिस्चार्ज हुने उनले बताए।

 ‘दुई वर्षअघि यहाँ पाइल्सको लागि आएको थिए पुरै निको भएर यस पटक घुँडाको जोर्नी दुखेर हिड्न नै सकिएको थिएन अहिले त पुरै निको भएको छ।’ उनले भने।  यस्तै पाइल्सको अप्रेसन गरेर विगत एक हप्तादेखि  अस्पतालमा भर्ना भएर उपचार गर्दै आएकी रुकुमकी भद्री थापाले पनि अस्पतालमा सबै कुरा राम्रो पाएको बताइन्। उनले भनिन्,‘ खाना, बस्नको लागि हामीलाई राम्रो छ। उपचार पनि राम्रो पाएका छौँ। तर, बिरामीहरूको चाप एकदमै हुने रहेछ। बेड अभावका बिरामीहरूलाई समस्या भइरहेको पाएका  छौँ।’

अस्पतालमा निशुल्क औषधि र निशुल्क टिकट मात्र होइन, प्रयोगशाला सेवा तथा भिडिओ एक्सरे, एक्सरे तथा इसिजि सेवा समेत उपलब्ध छ। नियमित सुगर परीक्षणमा आउने ज्येष्ठ नागरिकहरूलाई बार हेरेर निशुल्क परीक्षणको व्यवस्थापन पनि अस्पतालले मिलाएको छ। अन्य सेवामा पनि न्यनतम शुल्क। जनरल सर्जरी, क्षारसुत्र, पञ्चकर्म, स्त्री, बालरोग तथा नाक, कान घाँटी रोगको उपचारका लागि विशेषज्ञ चिकित्सक सेवा उपलब्ध छ।

फिजियोथेरापीष्टबाटै फिजियोथेरापी सेवा उपलब्ध छ। बिहानीमा बिरामीहरूलाई आवश्यकता अनुसारको योगा र जोसुकैका लागि खुला नागरिक व्यायामशाला पनि बिजौरी अस्पतालमा उपलब्ध छ। साथै अस्पतालले आफ्नै फार्मेसी सेवा पनि सञ्चालनमा ल्याएको छ। सहुलियत मूल्यमा किन्नुपर्ने अन्य औषधिहरू अस्पताल फार्मेसीले उपलब्ध गराउँदै आएको छ। अहिले अस्पतालमा  दैनिक एक सय पचास भन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन्। त्यसमा अत्यधिक पायल्स र फिस्टुलाको समस्या भएका आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पताललाई ५० बेडमा लैजान मन्त्रालय आतुर : स्वास्थ्य सचिव पन्थी

यसैबीच प्रदेश सरकारको मातहतमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीलाई ५० बेडको अस्पताल बनाउन लुम्बिनी प्रदेश सरकार आतुर रहेको छ। त्यसका लागि प्रक्रिया समेत केही समयमै अघि बढाइने प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘आयुर्वेद अस्पताललाई पचास बेडको अस्पताल बनाउन अब चाँडै  ओएनएम सर्वे हुँदैछ, त्यसका लागि प्रदेश नियमावलीको प्रतिरक्षामा छौं’, प्रदेश स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले भने,‘ प्रदेश सरकारले ओएनएम सर्वेका लागि ऐन ल्याइसकेको छ।’

अब नियमावली बनेपछि सबै मन्त्रालयहरूले मातहतका कार्यालयहरूको ओएनएम सर्वे गर्ने उनले बताए।  यद्यपि नियमावली कहिले आउने भन्ने विषय भने अझै अन्योल छ। प्रदेश सरकारले विगत दुई वर्ष अघिदेखि आफ्ना नीति र कार्यक्रममै सम्बोधन गरी  अस्पताललाई कम्तिमा ५० बेडको अस्पताल बनाउने उद्घोष गर्दै आएको छ। यद्यपि यो कार्यान्वयनमा जान भने सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.