|

चितवन :  बागमती प्रदेशमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेमध्ये चितवन पहिलो बनेको छ।  प्रदेशका १३ जिल्लामध्ये चितवनमा यो वर्ष १५ हजार ८२३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्।

श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेलले बताए। 

‘चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका यूरोपका देशमा जानेको सङ्ख्या बढी छ’, उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो।’ उनका अनुसार भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार ५०० घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन्। 

आर्थिक वर्ष २०७९/२०८० मा नेपालबाट सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्यांकमा रहेको छ । यसमध्ये बागमती प्रदेशबाट मात्रै एक लाख १६ हजार ९३२ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ८२३ जना छन्।

धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको संयोजक पौडेलले जानकारी दिए। यहाँबाट अघिल्लो आर्थिक वर्षमा एक हजार १६१ जनाले राहदानी बनाएका थिए। 

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका छ हजार ५६१ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै माडी नगरपालिकाबाट दुई हजार १२७, इच्छाकामना गाउँपालिकाबाट एक हजार आठ, रत्ननगर नगरपालिकाबाट एक हजार ४७१, कालिका नगरपालिकाबाट एक हजार ६७९, खैरहनी नगरपालिकाबाट एक हजार ६०८ र राप्ती नगरपालिकाबाट एक हजार २९१ जनाले श्रम स्वीकृत लिएका छन्। 

जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आवमा १३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको बिचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो। 

देशमै रोजगारी सिर्जना गर्नका भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले जल, जमिन र जंगललाई उपयोग गर्दै यहाँ भएको सीपलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने प्रयासमा लागेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.