|

  • ईश्वर थापा 

धनकुटा : भनाइ नै छ, ‘जित्दा कमजोरी ढाकिन्छन्। हार्नेसँग कारण मात्रै हुन्छ।’ स्थानीयको चुनावमा नराम्ररी पराजित भएपछि कांग्रेस र माओवादी पार्टीका नेता–कार्यकर्ताहरुले हारका विभिन्न कारणहरु औल्याउन थालेका छन्।

धनकुटाका सात वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा एमाले विजयी भएपछि अन्य पार्टीका नेता–कार्यकर्तामा निराशा छाएको छ। चुनावअघि कांग्रेसले जिल्लाका सातवटै स्थानीय तह जित्ने दाबी गरेको थियो।

जितको आधार तय गर्नकै लागि महालक्ष्मी नगरपालिकामा राप्रपासँग तालमेल गरेको कांग्रेसले चौबिसे र साँघुरीगढीमा संघीय समाजवादीसँग तालमेल गरेको थियो। धनुकटा र पाख्रिबासमा बलियो मानिएको कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रियो।  तर न एक्लै भिडेका ठाउँ जित्न सक्यो। न त अन्य पार्टीसँगको तालमेलले नै राम्रो नतिजा दियो। 

एमालेको तुलनामा सबै स्थानीय तहमा कांग्रेस कमजोर देखियो। ६० वडामध्ये ९ वडामात्रै जित्नुले पनि धनकुटामा कांग्रेस कति कमजोर भयो भन्ने प्रस्ट पारेको छ। 

कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले मतदाता शिक्षाका कारण आफ्नो पार्टीका पक्षमा आएको धेरैभन्दा धेरै बदर भएको दाबी गरे। उनले पार्टीभित्र कुनै गुट–उपगुट नभएको दाबी गरे।

कांग्रेसले पराजित भएका स्थानीय तहमध्ये सबैभन्दा राम्रो मत धनकुटा नगरपालिकामा ल्याएको छ। यहाँ कांग्रेसका प्रमुख पदका उम्मेदवार  दिनेश राई एमालेका उम्मेदवार चिन्तन तामाङभन्दा १ सय १४ मतले मात्रै पछि परेका हुन्। ‘प्रमुख पदमा धेरैभन्दा धेरै मत बदर भयो। त्यो हाम्रो पक्षमा आएको मत थियो मतदाता शिक्षाकै कमी भयो,’ सचिव राईले भने।

जिल्लामा कांग्रेसको भन्दा पनि नराम्रो हालत माओवादीको भयो। माओवादी केन्द्रले चुनावअघि धनकुटाको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेको थियो।  धनकुटाका सात वटै स्थानीय तहमा कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरी एक्लै  मैदानमा होमिएको माओवादीले कुनै पनि तहमा राम्रो मत ल्याउन सकेन।

माओवादीले जिल्लाका  धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, चौबीसे गाउँपालिका र छथर जोरपाटी गाउँपालिका जित्ने दाबी गरेको थियो। तर परिणाम उसले सोचेको भन्दा ठिक विपरित आयो। 

माओवादी केन्द्रले धनकुटा जिल्लाका ६० वटा वडा मध्ये ५ वटा वडामा मात्रै जित निकाल्यो। माओवादीका धनकुटा नगरपालिका प्रमुखका उम्मेदवार गणेश विष्टले अन्तर्घातका कारण चुनावमा पराजित भएको आरोप लगाए। ‘नगर कमिटीका केही साथीहरु नै मलाई हराउन लाग्नुभयो। नत्र यसपटक हामीले जित्ने संभावना धेरै थियो,’ उनले भने। 

टिकट पाएर पनि चुनाव जित्न नसकेका उनीजस्ता धेरै उम्मेदवार अन्तर्घातका कारण पराजित हुनपरेको दाबी गर्छन्। टिकट नपाएका नेता–कार्यकर्ता भने राम्रा उम्मेदवार उठाउन नसक्नु नै पार्टी पराजयको प्रमुख कारण रहेको बताउँछन्। 

माओवादी केन्द्र धनकुटाक नगरपालिकाका संयोजक सुन्दरबाबु श्रेष्ठ आन्तरिक कलह र आर्थिक कठिनाइका कारण उम्मेदवारहरु पराजित भएको बताउँछन्। उनले एक  उम्मेदवारले अर्का उम्मेदवारको विश्वास नगर्नु, पार्टी संगठनलाई नटेर्नु, चुनावी प्रचारमा पर्याप्त ध्यान नदिनु हारका अन्य कारण भएको औल्याए। 

राजनीतिक संस्कार, लगानी र मूल्य मान्यताभन्दा नेतालाई प्रभाव पार्नसक्ने व्यक्ति हाबी हुँदा पनि निर्वाचनमा त्यसको असर देखिएको नेता–कार्यकर्ताको भनाइ छ। माओवादी केन्द्र धनकुटाका सचिव ऋषिराम ढुंगानाले उम्मेदवारी दिने बेलादेखि नै पार्टीभित्र विवाद देखिएको स्विकारे।

ढुंगानाले चुनावपछि अन्तर्घातले पराजित भएको भन्ने कुरो उम्मेदवारहरुबाट आइरहेकाले सबै वडामा समिक्षा बैठक बसेर तत्काल अन्तर्घात गर्नेहरुको नाम कारबाहीको लागि जिल्लामा पठाउन निर्देशन गरिसकेको बताए। 

उनले सबै वडाबाट कारबाहीको लागि नाम सिफारिस भएर आएपछि जिल्ला पार्टीको समिक्षा बैठक बसेर चुनावमा अन्तर्घात गर्नेमाथि कडा कारबाही गरिने बताए।

धनकुटा जिल्लामा १ सय १७ ओटा मतदान स्थलमा १ सय ४३ ओटा मतदान केन्द्र निर्धारण गरिएको थियोे। जिल्लाको सात वटा स्थानीय तह मध्ये सबैभन्दा बढी मतदाताको संख्या धनकुटा नगरपालिकामा छ।

धनकुटा नगरपालिकामा १८ हजार १ सय २८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ। यसैगरी महालक्ष्मी नगरपालिकामा १५ हजार ७ सय ८३ जना, पाख्रीवास नगरपालिकामा १३ हजार ९ सय ३० जना, साँगुरीगढी गाउँपालिकामा १३ हजार ७ सय ७५ जना, चौबिसे गाउँपालिकामा १२ हजार ८५ जना, खाल्सा छिन्ताङ्ग शहिदभुमि गाउँपालिकामा १० हजार ९ सय २८ जना र छथर जोरपाटी गाउँपालिकामा १० हजार ७ सय ३६ जना मतदाता गरी जिल्लामा ९५ हजार ३ सय ६७ जना मतदाता थिए।

जसमा धनकुटा नगरपालिकामा १३ हजार ७ सय ७ जना, महालक्ष्मी नगरपालिकामा ११ हजार १ सय ४० जना, पाख्रिबास नगरपालिकामा ९ हजार ६ सय २५ जना, साँगरीगढी गाँउपालिकामा १० हजार ८२ जना, चौबिसे गाँउपालिकामा ८ हजार ७ सय ५७ जना, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा ८ हजार २५ जना र  छथर जोरपाटी गाउँपालिकामा ७ हजार ६ सय ८३ जना गरि धनकुटा जिल्लामा ६९ हजार १९ मत खसेको थियो।

जम्मा खसेको मतमध्ये धनकुटा जिल्लामा १ हजार ५ सय ७३ मत बदर भएका थिए। जसमा धनकुटा नगरपालिकामा २ सय ५५, महालक्ष्मी नगरपालिकामा १ सय ३१, पाख्रिबास नगरपालिकामा ३ सय ५०, साँगुरीगढी गाउँपालिकामा २ सय ५०, चौबीसे गाउँपालिकामा १ सय ५०, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा १ सय ५४ र छथर जोरपाटी गाउँपालिकामा २ सय ८३ मत बदर पूर्ण रुपमा बदर भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी केशव पौडेलले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.