|

काठमाडौं : बंगलादेशमा आगलागीमा परी ४४ जनाले ज्यान गुमाएका छन्। २० भन्दाबढी गम्भीर घाइते भएका छन्।

बांग्लादेशको राजधानी ढाकामा रहेको एक साततले भवनमा बिहीबार राति आगलागी भएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्। मृतक र घाइतेको ढाका मेडिकल कलेज अस्पताल र नजिकैको बर्न अस्पतालमा उपचार भइरहेको ढाका ट्रिब्युनले जनाएको छ।

घटनास्थलमा पुगेका बंगलादेशका स्वास्थ्यमन्त्री डा सामन्तलाल सेन र सांसद एएफएम बहाउद्दीन नसिमलगायत वरिष्ठ अधिकारीहरु अस्पाताल पुगेका थिए।

बिहान २ बजे सञ्चारमाध्यमसँग कुरा गर्दै सेनले ढाका मेडिकल कलेज अस्पतालमा ३३ जनाको शव र शेख हसिना नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा थप १० जनाको मृत्यु भएको जानकारी दिए। त्यसपछि प्रहरी महानिरीक्षकले केन्द्रीय प्रहरी अस्पतालमा थप एक जनाको मृत्यु भएको पुष्टि गरेका थिए।

आईजीपी चौधरी अब्दुल्लाह अल मामुनले पत्रकार सम्मेलन गर्दै ४४ जनाको मृत्यु भएको र ७५ जनाको उद्धार गरिएको जानकारी दिए। उद्धार गरिएकामध्ये केहीले सकुशल घर फर्कनुअघि प्राथमिक उपचार गरेका थिए। अधिकांश मानिसहरु भवनबाट हाम फालेर वा जलेर वा निसास्सिएर ज्यान गएको बताइएको छ।

 ‘कच्ची भाइ’ नामक रेस्टुरेन्ट रहेको भवनको दोस्रो तलामा राति पौने १० बजे आगलागी भएको थियो। आगो अन्य तलामा फैलिँदा धेरै मानिस रेस्टुरेन्टमा खाना खाइरहेका थिए। राजधानीको बेली रोडमा रहेको भवनमा मुख्यतया रेस्टुरेन्टका साथै धेरै कपडा र मोबाइल फोन पसलहरू छन्।

सुरक्षा नियमहरूको लापरबाहीका कारण बांग्लादेशमा अपार्टमेन्ट भवन र कारखाना परिसरहरूमा आगलागीका घटनाहरू भइरहन्छन्। सन् २०२१ को जुलाईमा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा बालबालिकासहित कम्तीमा ५२ जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.