|

पर्वत : बिहीवार राति जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित बीबीसीचोककी शर्मिला पौडेलले सञ्चालन गर्दै आएको पसलसमेत रहेको घरको ढोकामा केही आवाज आयो।

राति अचानक ढोका फुटाउन खोजेजस्तो आवाज सुनेपछि घरमा सुतिरहेका परिवारका सदस्यहरूले ढोका खोलेर हेर्दा घरको ढोका फुटाएर चोरी भइसकेको रहेछ।

नगद १० लाख रुपैयाँ, पसलमा कारोबार भएको १७ हजार रुपैयाँ र नेपाल टेलिकम र एनसेलका रिचार्ज कार्डहरू चोरी गरेका युवकले त्यहाँबाट उम्किन निकै प्रयास गरे तर उनको प्रयासलाई असफल पार्दै स्थानीयले चोर्दाचोर्दै नियन्त्रणमा लिएर प्रहरीमा खबर गरे। जिल्ला प्रहरी कार्यालय पर्वतको टोली अनुसन्धानका लागि तुरुन्तै घटनास्थलमा पुग्यो।

पेशेवर रूपमा रातको समयमा लाखौँ रुपैयाँ र सुनका गरगहना चोरी गर्दै आएका ती व्यक्तिलाई जिल्ला अदालत पर्वतबाट चोरीसम्बन्धी कसुरमा १० दिनको म्याद थपेर अनुसन्धान गर्न थालेपछि उनका बारेमा विवरणहरू खुले।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार पक्राउ परेका ती युवा रोल्पाको रोल्पा नगरपालिका–१ घर भएका ३३ वर्षीय भरत परियार हुन्।

शुरुमा बागलुङको बागलुङ नगरपालिका–१० भकुन्डे घर भई विक्रम थापा भएको बताए पनि बरामद भएको झोलामा राखेको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा उनी रोल्पाका भरत भएको पत्ता लागेको हो।

गत माघ र फागुनमा स्याङ्जाका विभिन्न स्थानमा, फागुन १६ गते पर्वतको जलजला गाउँपालिका–३ मल्लाज, १७ गते फलेवास नगरपालिका–६ खौला र चौबीस कुरीया, १८ गते कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बिबिसी चोकलगायत विभिन्न स्थानमा पनि परियारले नै चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

परिवारले बोकेको झोलाबाट सुनजस्तै देखिने गहना ३५ तोला, ११ लाख १५ हजारभन्दा बढी नगद, ४२ वटा रिचार्ज कार्ड, दुई थान मोबाइल सेट, नेपालको नक्सा, नेपालको सडकको नक्सा, हँसिया, वायरलेस सिसिटिभी क्यामेरा, हार्डडिक्स, एलइडी मोनिटर, चोरीमा प्रयोग गरिएको ह्याम्मर, स्क्रु ड्राइभर, टर्च लाइटलगायत बरामद भएका छन्।

पक्राउ परेका परियार यसअघि पनि पेशेवर चोरीमा संलग्न रहको पाइएको छ। २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्दामा ४ वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको प्रहरीको तथ्यांकले देखाएको छ।

उनी शुरुमा केन्द्रीय कारागार काठमाडौँ  र पछि झुम्का कारागार सुनसरीमा बसेको पाइएको छ। त्यहाँ बस्दा पनि आपराधिक व्यक्तिहरूसँग सम्पर्क बढाई जेलबाट छुटेपछि पुनः गिरोहमा नै सक्रिय रहँदै आएको भेटिएको छ।

प्रहरी नायव उपरीक्षक भुसालका अनुसार परियारले प्रयोग गर्दै आएको स्मार्ट फोनमा ‘लोकल लेभल’, ‘अर्थ म्याप स्याटलाइट’, ‘एरिया क्यालकुलेटर फर ल्यान्ड’, ‘लाइभ अर्थ म्याप’ लगायत विभिन्न ‘एप्लिकेसन’ हरू राखेको पाइएको छ।

‘तिनै एप्सबाट स्थानीय तहबारेमा जानकारी लिने, त्यहाँबाट ‘युट्युब’ मा गएर स्थानीय तहका गाउँ र भूगोलको बारेमा जानकारी लिने, प्रहरीको युनिट, बस्तीको अवस्थितिबारे थाहा पाउने, सडकको नक्साबाट बाटोबारे जानकारी लिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’, डिएसपी भुसालले भने, ‘घरहरूबारे सबै जानकारी लिएपछि दिउँसो रेकी गरेर घरको अवस्थिति, झ्याल, ढोकालगायत बारेमा जान्ने र रातिमा लगातार ८/१० ओटै घरमा चोरी गर्ने लक्ष्य राखेर जाने गरेको पाइएको छ।’

प्रहरीको अनुसन्धानका क्रममा परियार ‘बक्सिङ’का पूर्वराष्ट्रिय खेलाडी नै हुन् भन्ने सूचना आएको भन्दै उनले पछिल्ला समयमा जिल्लामा चोरीका बारेमा आइरहेको सूचनाका आधारमा राति सादा पोशाकमा प्रहरी खटाएर नियन्त्रणमा लिने प्रयास गर्दै आइरहेको उनको भनाइ छ।

अनुसन्धानका क्रममा परियारले आफू एक्लै चोरीमा संलग्न रहँदै आएको बताए पनि उनी पेशेवर तरिकाले नै चोरी गर्दै आइरहेकाले गिरोहसमेत हुन सक्ने आधारमा अनुसन्धान भइरहेको डिएसपी भुसालले बताए।

पर्वत र आसपासका ठाउँहरूबाट चोरीपीडित व्यक्तिहरू प्रहरीमा आएर उजुरी दिइरहेका र घटनाका सङ्ख्याका आधारमा करिब ७५ प्रतिशतले उजुरी गरिसकेको पनि पर्वत प्रहरीले बताएको छ।

चोरी भएका सामग्रीहरू आफ्नो भएको पुष्टि हुने कुनै प्रमाण भेटिए अदालतको आदेशअनुसार सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गर्ने प्रक्रिया थालिने प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.