साहित्य

कल्लीको मोबाइल फोन बज्यो (उपन्यास अंश)
SHARES

असार ३०, २०७४
    • हरिमाया भेटवाल-

    पत्रकार तथा पाहुनाहरू माझ कार्यक्रमको आरम्भ भयो।

    उद्घोषकले विदूषी राणालाई सभाध्यक्षका लागि अनुरोध गरे। वर्तमानमा नेपाल र नेपालीको अवस्था झल्किने कारुणिक गीत बजाएर कार्यक्रम अगाडि बढाइयो।

    प्रस्तोताले डिल्लीराम प्रकरणको परिचर्चा सुरु गरे। यो प्रकरणकी पीडित कल्ली र उसका बूढा ससुराबासमेतको अवस्था वर्णन गर्दै आफ्नो भनाइ सभा समक्ष राख्न कल्लीलाई अनुरोध भयो।

    खचाखच भरिएको समाकक्षाको आँखा कल्लीमा गाडिए, जब ऊ उठी। उसले आफ्नो मनलाई भावनामा बग्न नदिने अठोट बलियो पारेकी थिई। ऊ बिस्तारै माइकतर्फ बढ्दा सभाकक्षमा सन्नाटा भरियो।

    'आदरणीय महानुभावहरू, म गाउँकी अबोध नारी हुँ। म भाषण गर्न जान्दिनँ। पीडामा मैले रुन जानेकी छु। हाँस्न जानेकै छैन। किनभने मेरो जीवनमा खुसीले हाँस्ने पाटो खुल्दै खुलेन। म यहाँ एउटा शब्दचित्रमा वियोग, चित्कार, क्रन्दनलाई घोलेर बनाएको चित्र प्रस्तुत गर्छु।'

    उसले होक्सिरीको शब्द चित्र देखाई, जहाँ सुन्तलीको भट्टी पसल थियो। र, थियो अभ्यस्त जँड्याहा पात्रहरूको खैलाबैला। कल्लीको शब्दचित्रमै लठ्ठी टेकेर लाहुेरे बा आए। नारा बोकेर गङ्गा आइन्। लाहुरेले लुटेको बीस रोपनी गैह्रीखेत आयो। अपुत्रोलाई छोरा बनाइदिने वनझाँक्री ढ्याङ्ग्रो ठोक्दै आयो। आफ्ना बाबुको छोरो जन्माउने इच्छाविपरीत आफू जन्मेको दृश्य पनि आयो। रक्सीकै कारणले बाबु मरेका र लक्षिमामाथि खनिएका दुःखका पहिरो पनि क्रमशः आए।

    जिन्दगी जस्तै लोता छिनेको चप्पल बजाउँदै भाइसँग बितेको बालापन आयो। ऊ बाह्र वर्षकी हुँदा मिठाईमा लोभ्याएर लाहुरेबाले आफ्नो शरीर सुम्सुम्याएको दृश्य पनि आयो।

    कति कुरा आए आए! ब्याउने बाख्री बेचेको पैसाले बिहेका सामान किनेर घर फर्केकी आमाको स्मृति चित्र सजीव भएर आयो। पत्तै नपाई आफू छोरीबाट काशीरामकी बुहारी भइसकेकी दृश्य पनि आयो। 

    आफू बुहारी बनेर आएको भोलिपल्टै सासु बज्यैको मृत्युको शङ्ख धून आयो। दुःखदायी किरियावासको पृष्ठ पल्टिनेबित्तिकै आफ्नी आमालाई गाउँलेले बोक्सी प्रमाणित गरी शरीरमा डामेको, गुहु-मूत खुवाएर नाङ्गेझार पारिएको परिदृष्य आयो। त्यो असह्य अपमानको पीडाले भाइ नन्दुसहित आमाले शिरीषेको दहमा फालहाली मृत्युवरण गरेको घटना मस्तिष्कमा हामफाल्दै आयो।

    बाह्र वर्षकै उमेरमा माइतीको नामनिशान मेटिएको, श्रीमानलाई पढ्नको निम्ति काठमाडौँ पठाइएको, ससुरा बाजेकै सदाशयतामा आफूले पनि बाह्र कक्षासम्म पढ्दै गर्दा लोग्ने डिल्लु काठमाडौँमै भूमिगत जस्तै गरी बसेको सम्झना आयो। ऊ जवान भएर नौ वर्षपछि घरमा आएको दृश्य रोमाञ्चक भएर आयो। मधुमिलनको पहिलो रात शिरानीको सट्टा लोग्नेको पाखुरा र अङ्कमालसहित द्वन्द्व र खुसीका दिनहरू आए।

    विदेश जान एक लाख रुपियाँको माग गरेपछि ससुराबाले आफू बसेकै घर साहुलाई बन्धकी राखेर डिल्लु दुबई गएको कुरा पनि आयो।

    छोराबाट साहुको ऋण तिर्ने पैसा आउला भन्दाभन्दै ससुरा बाको कानसम्म डिल्लुलाई हत्याको अभियोग लागेको कुरा पनि आयो। जिउँदै मरिसकेकी कल्लीले सभाहलमा पटकथा, संवादसहित रुँदै गुहार माग्दा सभाहलमा तीन पटक हिक्क हिक्क हिक्क गुन्जियो। कल्लीसँगै उपस्थित समुदायले पनि आफ्ना आँखा पुछे।

    तुरुन्तै विदूषी उठिन् र कल्ली नजिक पुगेर उनको पाखुरा समातेर सम्हालिन अनुरोध गर्दै उठाइन्। कल्लीले उठेर विनित स्वरमा फेरि भन्न थाली, 'सहयोगी दाताहरू! म गुहार माग्न आएकी हुँ। म झोली थाप्न आएकी हुँ। म तपाईंहरूकी बहिनी। नेपालकी चेली, जसले यो उमेरसम्म सुख के हो थाहा पाइन। वैंशका सात दिन मात्रै लोग्नेसँग सँगै बसेकी म। त्यसपछि फेरि कहिल्यै त्यो खुसीका दिन आएन ममा।

    अहिले मेरा लोग्ने दुबईको अदालतमा छन्। अदालतले ५० लाख रुपियाँ ब्लड मनी मागेको छ रे! सम्पत्तिको नाममा पचास रुपियाँ निकाल्न गाह्रो छ मलाई। म कहाँबाट जम्मा गरूँ त्यो पैसा? मलाई बाँच्न सिकाउने विदूषी दिदीले मेरो नामको बैङ्क खातामा दश हजार रुपैयाँ जम्मा गरिदिनुभएको छ आज। म तपाईंहरूकी छोरी हुँ। नेपालकी छोरी हुँ। यो छोरीको सिन्दूर पुछ्न नदिनोस् ! म आज भीख माग्छु तपाईंहरूसँग– मेरो लोग्नेको भीख! मेरा ती वृद्ध ससुराबाको जीवन रक्षाको भीख।

    बोल्दाबोल्दै बोल्न नसकेपछि कल्ली त्यही भुइँमा घुप्लुक्क लडी।

    विदूषी जुरुक्क उठेर माइक समाउन पुगी। उसको गला थरथरायो– 'कल्ली बहिनी! उठ, व्यथा बाँड। मनमा नगुम्स्याऊ। अझै हामीलाई तिम्रा पीडा बताऊ। तिमी उठ, साहस गर! मनको भुतभुतेमा जलाएर जीवनलाई भस्म नगर! मानिसहरू भन्छन्, कलीकाल व्याप्त छ। मानवीय समाजमा दया, माया, करुणा र उपकार भन्ने तङ्खव मरिसक्यो। तिमी प्रमाणित गर- मानिसहरू पशु होइनन्। उनीहरूको हृदयमा मानवीय भावनाको अनिकाल परेको छैन अझै। उठ र बाँच्ने बाटोमा हिँड, बचाउने बाटोमा हिँड।' विदूषीले कल्लीलाई यसरी उठाई, मानौँ, जसरी मृतशैयाको बिरामीले सञ्जीवनी पायो।

    कल्ली जुरुक्क उठी। उनको मुखाकृति भुतभुतेभित्रको फिलिङ्गो जस्तै देखियो। बगेका आँसु एकाएक सुके- तातेको तावामा पानी पर्दा झर्झराएर सुकेझैँ। उसको मुखबाट बाफसहितको सुस्केरा निस्क्यो। ऊ बोल्न थाली।  

    'हे दिदै! हे दाजै! म हजुर्हेर्लाई रुवाउन होक्सिरीदेखि यहाँसम्म आएकी हैन। म त रुँदारुँदै समाप्त हुनुअघि न्यायको लागि तपाईंहरू समक्ष आएकी हुँ। मलाई नै रुवाउनेहरू, मलाई नै आगोमा झोसेर समाप्त पार्न खोज्नेहरूलाई उतै गाउँमा छोडेर, मेरा बूढा ससुराबालाई जेठको दाउरोझैँ सुकेको हेर्न छोडेर, मेरो सपनामा डिल्लुलाई रातको चमेरोझैँ विदेशीको बधशालामा झुण्डिएको हेर्न छोडेर म यहाँ आइपुगेकी छु। म यो न्यायिक दुनियाँमा आइपुगेकी छु। अब जे हुन्छ, तपाईंहरूकै आशा छ मलाई।'

    बोल्दाबोल्दै ऊ बोल्नै सकिन।

    सन्नाटा छायो सभाकक्षमा। मानिस बसेको मनले मानिस रोएको मनलाई यसरी सुकाउँछ, जसरी चैतको डढेलोले भुइँमा झरेका पत्कर जलाउँदा अग्ला रूखका पालुवा तापले सुक्छन्।

    त्यसै बेला एउटा भव्य व्यक्तित्वको मान्छे मञ्चमा उक्लिए र माइक समातेर बोले, 'मलाई यो नानीको कुराले मन बिझायो। यिनका बूढालाई जसरी तसरी बचाउनुपर्छ भन्दै म अहिले नै आफ्नोतर्फबाट एक लाख रुपैयाँ जम्मा गरिदिने घोषणा गर्छु।'

    सुन्नेहरूबाट तालीको पर्रा छुट्यो। आयोजकहरूबाट खादा ओढाएर उनलाई सम्मान गरियो।

    'तपाईंको नाम, परिचय भन्नुस्?' मान्छेहरूबाट सोधीखोजी सुरु भयो।

    'मेरो नाम डम्बरबहादुर गुरुङ। पेशाले म म्यान पावर व्यवसायी। धन्यवाद !'

    यो त सुरुवात थियो। शुभारम्भसँगै अर्का एकले हात उठाएर पचास हजार रुपैयाँ दिने वाचा गर्दै भने, ‘कल्लीको खाताको नाम र नम्बर भन्नुहोस्!’

    उद्घोषकले बैंकको नाम र खाता नम्बर सबैलाई माइकबाटै बताए। क्रमशः पैसा थपिँदै गयो। पत्रकारका प्रश्न र मिडियाका क्यामेराले घेरिँदै गई कल्ली। जाँदाजाँदै कार्यक्रमको आर्कषण कल्ली र दाताहरू बने।

    xxx

    भोलिपल्ट बिहानै हकरले पत्रपत्रिकाहरू फालिसकेका थिए गेटभित्र। कल्ली ओल्टाइपल्टाई हेर्न थाली। सबै पत्रिकामा उसको फोटो, डिल्लुको फोटो अनि मृत्युदण्डको कुरा छापिएको थियो। कतिले ब्यानर न्युज नै बनाएका रहेछन्। कसैले बक्स न्युजमा पनि लेखेका रहेछन्। टेलिभिजनलगायत अन्य सञ्चार माध्यममा हिजोदेखि अहिलेसम्म नै तारन्तार कल्ली देखिरहेकी थिई। विदूषीको बलियो कार्यकुशलताले सञ्चार माध्यममा छपक्कै छाएको थियो आज डिल्लु।

    'कल्ली, पत्रपत्रिका सप्पै पढ्यौ? टेलिभिजन र पत्रपत्रिका अनि एफएममा हाम्रो खबर आएको छ। मिडियाले राम्रो कभर गरिदियो। यो एउटा सफलताको सङ्केत हो। अब अगाडि पनि यसरी नै बढ्नुपर्छ। डिल्लु बाँच्छ', विदूषीको आत्मविश्वास बलियो देखियो।

    टिङ... टिङ... टिङ... टिङ... कल्लीको मोबाइल फोन बज्यो।

    'तिम्रा बाको फोन हो?'

    'हैन, विदेशबाट।'

    'उठाऊ... उठाऊ।'

    'हेलो...।'

    'को बोल्दै हुनुहुन्छ?'

    'म कल्ली।'

    'ए भाउजू, के हुँदै छ त्याँ? याँ त वातावरण अत्यासिलो बन्दै छ। हामीले अरू प्रयत्न गरेर पाँच लाख पुर्‍यायौँ।'

    'म पनि काठमाडौ' आइसकेकी छु। हिजो एउटा कार्यक्रमबाट पाँच लाख जम्मा गर्‍यौ हामीले। ब्याङ्काँ खाता खोल्या छौँ। अब बिस्तारै अरू पोइसा पुनि...।'

    'तर पनि यो कछुवाको ताल हो। याँको सरकारले निर्णयलाई कार्यान्वयनको तहमा लगो भने हामी केही गर्न सक्दौ'न भन्दै छ वकिल', त्यो मान्छे बोल्दै थियो। कल्ली बोल्नै सकिन।

    एक्कासि जिउमा बरफ पानी खन्याइदिएजस्तो भयो कल्लीको अनुहार। ऊ तर्सिएर विदूषीतिर टोलाउन थाली। विदूषीले उसको हातबाट फोन थुतेर लिई।

    'त्यो वकिलको फोन मलाई दिन मिल्छ भाइ? म कुरा गर्छु, बुझ्छु।'

    'कस्तो कुरा बुझ्नुपरो? मलाई भन्दा पनि हुन्छ।'

    'हैन, कतिपय कानुनी कुराहरूको विषयमा सल्लाह गर्न सक्छौँ। कुरा बुझेर प्रशासनको ठाउँठाउँमा धाउन सक्छौँ अनि डिल्लुसँग पनि कुरा गर्ने वातावरण मिलाउन सक्छौँ।'

    'हुन्छ दिदी! म दिइहाल्छु। टिप्नुहोस्। इब्राहिम भन्ने वकिल हो। यो मुस्लिम नै हो। नेपाली भाषा पनि राम्रोसँग बोल्न सक्छ। तेसैले पनि प्राय: नेपालीको मुद्दा यही वकिलले नै हेर्ने गर्छ। ... ल नम्बर टिप्नुस् त', उसले नम्बर भन्यो। विदूषीले कागजमा टिपिन्।

    'धन्यवाद भाइ। तपाईंहरूले त्यहाँ बसेर पनि डिल्लुको लागि धेरै गर्नुभएको छ। हामी त यहाँ अत्तालिएका छौँ। अब केही गर्न सक्ने आँट आएको छ। हेरौँ, के हुन्छ?' फोन काटिदिई विदूषीले र लगत्तै त्यो वकिलको नम्बरमा डायल गरी। फोन गयो।

    'हेलो', लगत्तै फोन उठ्यो।

    'हेलो, म नेपालबाट। तपाईं इब्राहिम हो?'

    'भन्नुहोस्, मै हुँ।'

    'म डिल्लीरामको विषयमा उसको परिवारको तर्फबाट। यहाँ हामीले सप्पै थाहा पायौँ। उसको होल केस हिस्ट्री तपाईंले नभने पनि अहिलेको रिसेन्ट प्रोसेस के भइरहेको छ भन्ने जानकारी लिन खोजेकी हुँ।'

    'हेर्नुस्, घटना भएकै हो। यहाँ दुबईको एउटा इन्डियन क्लबमा भएको झगडामा सविन सेठ्ठी भन्ने एक जना भारतीय नागरिक मारिएको छ। सागर र महेन्द्र भन्ने दुई जना भारतीय, जो डिल्लीरामका बोस हुन्, उनीहरूलाई नै मारेको अभियोग लागेको छ।

    वास्तवमा उनीहरूले पनि मार्छु भनेर मारेका होइनन्। डिस्कोमा भएको सामान्य झगडा त्यो मारामारमा पुगेर टुङ्गियो। उनीहरू आत्तिएर त्यहाँबाट भागे। डिल्लीराम त घटना हुँदा पनि बाहिर गाडीमै थियो। उनीहरू भित्रबाट दौडेर आई डिल्लुलाई गाडी चलाउन लगाएर अन्तै लगे। तीन दिनसम्म यही दुबईको एउटा होटलमा आफू लुकेर बसे। डिल्लुलाई पनि आफूसँगै राखे, कोठाबाट निस्कन पनि दिएनन्।

    दुबईको पुलिसले तीन दिनपछि समात्यो कोठाबाटै। उनीहरूले डराउँदै डिल्लुलाई पनि पोले। बनवारी भन्ने अर्को मान्छेले हतियार उपलब्ध गराएको कुरा पनि भने अदालतको इजलासले तीनैजनालाई दोषी ठहराएर मृत्युदण्डको सजाय सुनायो। डिल्लुलाई भाषाको समस्या भयो। उसले बोलेको कुरा प्रहरी र अदालतले नबुझ्ने अनि प्रहरी अदालतको कुरा उसले नबुझ्ने। त्यसैले बुझेको नबुझेको सबै कागजमा सिग्नेचर गरिदियो र अपराधी ठहरियो।

    अहिले यी तीनै जना युएईको आबिर भन्ने जेलमा राखिएका छन्। अर्कै देशमा लगेर मार्नुपर्ने यहाँको सिस्टमको कारणले त्यसको प्रोसेस अलि लामो हुन्छ। मृत्युदण्डको दिन नजिकिँदै जाँदा ती इन्डियनहरूको मनमा दया पलाएछ कि कुन्नि! केही दिनअगाडि आएर यो घटनाको बेलामा डिल्लीराम हामीसँगै थिएन भनिदिए। तर अदालतले घोषणा गरिसकेको कुरा कुनै हालतमा रोकिन्न भन्यो। त्यसपछि मैले डिल्लुको तर्फबाट मर्ने त्यो इन्डियनको परिवारसँग कुरा गरेँ। अहिले आएर ब्लड मनीमा कुरा मिलेको छ। यहाँको दुई लाखभन्दा बढी रियाल माग गरेका छन्। त्यो बुझाउन सके डिल्लीराम बाँच्छ', इब्राहिमले अहिलेसम्म भएको प्रगति सुनायो।

    'हामीलाई डिल्लुसँग कुरा गराउन सक्नुहुन्छ?'

    'म उसको वकिल। मैले पनि तोकिएको समयभन्दा बाहिर भेट्न पाउँदिनँ। यहाँ मृत्यदण्ड पाएको मान्छेलाई थुन्ने पनि बेग्लै व्यवस्था छ। त्यसैले पनि भेट्न बोल्न मुस्किल छ। सरकारी स्तरमा कुरा भयो भने त्यो सम्भावना पनि छैन भन्न सकिन्न। यहाँका नेपालीहरूले गएर राजदूतलाई भेटी हार गुहार पनि गरेकै हो। नेपाल जस्तो सानो देशको राजदूतलाई नटेरेको जस्तो भयो। तपाईंहरू त्यताबाट ट्राई गर्नुस् सम्भव हुन सक्छ',  विदूषीले फोनमा कुरा सकिन्।

    'उनलाई पठाउन स्वीकृति दिने श्रम मन्त्रालय हैन, दिदी?' कल्लीले अनुमान लगाउँदै सोधी।

    'अब श्रम मन्त्रालयले केही गर्न सक्दैन। यो कूटनीतिक स्तरको कुरा हो। परराष्ट्र मन्त्रालयलाई नै समाउनुपर्छ। तिमी चिन्ता नगर म प्रबन्ध मिलाउँछु।'

    विदूषी र कल्ली पुगे भीडमभीड परराष्ट्र मन्त्रालय। मन्त्रीसँग भेटघाट पनि भयो। उनले न्युजपेपरमै डिल्लुको कुरा पढिसकेका रहेछन्। त्यसमा थपथाप कुरा उनीहरूले राखे। मन्त्रीले राम्रै सहयोगको वचन दिए अनि त्यही वचनलाई च्यापेर फर्किए उनीहरू।

    (शनिबार विमोचन हुने हरिमाया भेटवालको उपन्यास 'कल्ली'को अंश।)

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]