|

दमक : पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिका ६ का ६५ वर्षीय अगन दाहाल आफ्नो घर खेत खोलाले बगाएयता मिक्लु सामुदायिक वनमा टहरा बनाएर बसेको एक वर्ष पूरा भयो। गत वर्षको असार ७ गते बक्राहा-नुनसरी खोलामा आएको बाढीले आफ्नो एक विगाह खेत र घर बगाएको एक वर्षसम्म पनि आफ्नो जमिनमा फर्कन सकेका छैनन्।

उनी मात्र होइन मिक्लाजुङको बेतेनी क्षेत्रका २५ घर परिवार अहिलेसम्म जंगलमा नै टहरा बनाएर बसेका छन्। घर सम्पति खोलाले बगाएपछि अर्काले बनाइदिएको टहरामा बसेर जीविको पार्जन गरेको एक वर्ष पूरा हुँदा समेत सरकारी निकायले चासो नदिएकोमा उनीहरुको दुखेसो छ। न्यानो अभियान नामक संस्थाले टहरा बनाइदिएर बसेको एक वर्ष भयो’, दाहाल सम्झन्छन्, ‘पोहोर साल पहेंलै खेतभरी पाकोको धान खोलाले बगायो, बर्खाभरि दुख गरेका थियौं, अहिले खानसम्म धौ–धौ छ।’

 सरकारी सहयोगमा कमी भएको गुनासो

सामाजिक संघसंस्थाले आफूहरुलाई धेरै सहयोग गरे पनि सरकारी निकायबाट भने सहयोग नभएको बाढीपीडित रणवीर बाघदास बताउँछन्। उनी भन्छन्, ‘बरु सामाजिक संघ संस्थाले यो टहरासम्म बनाइदिए, तर सरकारी निकायले बने वास्ता गरेको छैन, हामीलाई दिने भनेको २५ हजारमा १० हजार मात्र दिएको छ, अझैसम्म १५ हजार छैन।’

आफूहरुले यो जंगलको बीचमा जोखिमपूर्ण तरिकाले जीवन बिताउन बाध्य भएको उनी बताउँछन्। उनी भन्छन्,‘यो जंगल भनेको हात्ती बस्ने जंगल हो, जंगलमा नै दिसापिसाब गर्ने गरेका छौं, जाँदा पनि जंगली जनवारले आक्रमण गर्छ भन्ने डर हुन्छ।’

नेता चुनावको बेला आए–गए फर्केर आएका छैनन्

जंगलमा यसरी टहरामा बस्नु पर्दाको पीडा कसैले नबुझेको स्थानीय बाढीपीडित धनप्रसाद थापा मगर बताउँछन्। उनी भन्छन्,‘यसरी बस्नुको पीडा त हामीलाई मात्र थाहा छ, एउटा सानो टहरामा ७ जनाको परिवार बस्नुपरेको छ।’ एक वर्षमा एक पटक चुनाव आउने बेलामा मात्र नेताहरु आफूहरु भएको ठाउँसम्म आइपुगेको उनले बताए।

उनले भने, ‘हामी यहाँ बसेको एक वर्षमा मात्र नेताहरु आईपुगे, त्यो पनि भोट माग्न मात्र, भोट दिएमा खोला बाध बाध्छौँ तपाईंहरुको बगाएको जमिन फेरि बस्नयोग्य बनाउँछौं भन्थे, तर चुनाव सकिएपछि हामी भएको ठाउँसम्म घुरेर पनि आएका छैनन्।’

दुईवटा घर बगायो, यो पनि आज हो कि भोलि

गत वर्षको बाढीले मिक्लाजुङ्ग ६ की जानुका गौतमको २ वटा घर बगायो। एउटा ८ कोठे र एउटा सामान्य घर बगायो। त्यसयता उनी खोलानजिकै रहेको जग्गामा टिनले बारेर बस्न थालिन्। गत वर्षको बाढीले १० कठ्ठा जमिनसमेत बगायो। अहिले खोलाको छेउमा रहेको घर पनि आज हो कि भोलि भन्ने अवस्थामा छ। गौतम भन्छिन्, ‘गत वर्ष पनि खोलाले घर जग्गा लग्यो यो वर्ष पनि लान्छ होला, साउन र भदौको बाढी बाँकी नै छ।’

कुनै पक्षबाट खोला रोक्ने काम नभएको उनी बताउँछिन्। ‘खोलाले यत्रो क्षति पुर्याएको छ,तर कसैले खोला रोक्ने प्रयाससम्म गरेको छैन’, उनले भनिन्,‘ दिउँसो त जसो तसो बाढी आए पनि भागिएला राति के गर्नु, काखमा एक वर्षको छोरा छ, खोला देखेर विरक्त लागेर आउँछ।’ उनले तत्काल खोला रोक्ने प्रयास गरेरथप क्षति हुनबाट रोक्नुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.