|

पाल्पा : तानसेन नगरपालिका कार्यपालिका सदस्य दिनेश गन्धर्वलाई जनप्रतिनिधिका नाताले निम्ता आउँछ‚ जानुपर्ने हुन्छ तर उनलाई व्यवहार फरक गरिन्छ।

आफूसँगै गएका गैरदलित जनप्रतिनिधि सबैसँग हेलमेल गरेर हिँडेका हुन्छन्। दलित भएकै कारण आफूलाई कार्यक्रमस्थल भन्दा अलि टाढै राखेर कुरामा भुलाउँछन्। झट्ट हेर्दा विभेद नदेखिए पनि विभेद हुने गरेको अनुभव उनले सुनाए।

नगरपालिकाको बैठकमा आफूहरूको आवाज सुन्दैनन्। साक्षी बस्न गएजस्तै लाग्छ।  यसका लागि दलित समुदायका जनप्रतिनिधि एक भएर आवाज उठाउनुपर्ने बेला आएको गन्दर्भले बताए।

अझै पनि जातीय विभेद रहेको तानसेन नगरपालिकाकी कार्यपालिका सदस्य मञ्जु विश्वकर्माले बताइन्। जनप्रतिनिधि भएर कुनै कार्यक्रममा जाँदा विभेद महसुस गर्छु। ´दलित महिलालाई जनप्रतिनिधि बनाएर मात्रै हुँदैन`‚ उनले भनिन्‚ ´दलित भएकै कारण पदीय मर्यादाअनुसार व्यवहार पाउन सकिएको छैन। आशयजनक विभेद खेप्नुपरेको छ।` दलित भएकै कारण गैरदलित जस्तै निर्धक्क भएर सामाजिक काममा सक्रिय हुन नपाएको विश्वकर्माले गुनासो गरिन्।​

गैरदलितले अहिले विवाहजस्ता कार्यक्रममा बोलाउन छाडेको वडा सदस्य विमला बौडेलले सुनाइन्। पहिला विवाहमा बोलाउँथे‚ बारीको छेउमा राखेर खुवाउँथे। अहिले सँगै बसेर खानुपर्छ भनेर निम्ता गर्नै छाडेको उनले बताइन्।

दलित भएकै कारण जुनुसुकै संस्थामा आफू अपहेलित हुनुपरेको अर्की कार्यपालिका सदस्य लक्ष्मी विश्वकर्माले गुनासो पोखिन्। उनले भनिन्‚ ‘हाम्रो कुरा सुनुवाइ हुँदैन। बैठक तथा कार्यक्रममा एक्लो जस्तै भइन्छ।’ दलित अधिकारका मुद्दा उठ्दा हल्का रूपमा लिने गरेको उनले बताइन्।

उमेरले ७० कटेका समाजसेवी टुकबहादुर विश्वकर्माले पछिल्लो समयमा दलित झन् पीडित भएको बताए। दलितहरू आफ्नो अधिकारबारे बोल्न सक्ने अवस्थामा नपुगेको बताए। छुवाछुतका घटना राजनीतिक दबाबमा सामसुम पार्ने काम भइरहेको छ।

दलित र गैरदलितलाई सँगै राखेर जातीय विभेद विरुद्धको कार्यक्रम सञ्चालन गर्न तानसेन नगरपालिका-१३ छेर्लुङकी रामकुमारी दर्जीले माग गरिन्। यस्ता कार्यक्रम बस्ती बस्तीमा हुनुपर्ने उनको कथन छ।

लोकतान्त्रिक व्यवस्थामा झनै दलितका अधिकार खोसिएको उत्पीडित उत्थान विकास केन्द्र पाल्पाका कार्यक्रम संयोजक ठाकुर लोहागुनले दाबी गरे। तत्कालीन गाविस र जिविस हुँदा लक्षित वर्गलाई छुट्टै बजेट र कार्यक्रमको व्यवस्था हुन्थ्यो। स्थानीय सरकारले ती अधिकार कटौती गरेको उनले बताए। दलित समुदायको अवस्था जस्ताको तस्तै छ। गरिब र अशिक्षित छन्। छुवाछुतको सिकार भएका छन्। यस्तो अवस्थामा अहिले दलित समुदायका लागि प्रभावकारी कार्यक्रम नभएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको जातीय विभेदविरुद्ध सचेतना कार्यक्रममा सहभागीले विभेद गर्न पाइँदैन भन्ने आवाज उठाएका हुन्। जातीय विभेद गर्नेलाई कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिए।

समाजमा जातीय विभेद जकडिएको अवस्थामा रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए। ‘मैले जान्दा दलित समुदायका नागरिकसँग छोइँदा सुनपानी छिटो हाल्नुपर्ने चलन थियो। अहिले त्यो अवस्था छैन। अपेक्षित परिवर्तन भएको छैन`‚ उनले भने।

जातीय विभेदबारे गुनासो सुन्न र पीडितलाई न्याय दिन आफू तयार रहेको उनले बताए। अहिलेसम्म यस्ता मुद्दा नआएको बताउँदै कसैले जातीयताकै आधारमा विभेद गरे न्यायका लागि प्रहरी प्रशासनमा आउन आग्रह गरे। समाज परिवर्तन गर्ने दायित्व सबैको भएको प्रजिअ काफ्लेले बताए।

मान्छे मान्छेलाई कुनै खाले विभेद गर्न पाइँदैन। यदि जातीयताकै आधारमा विभेद भए प्रमाणसहित प्रहरीमा आउन जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए। उनले भने‚ ‘कसैलाई काखा र कसैलाई पाखा गर्ने छैन। हामीले न्याय दिन्छौं।’

पीडितलाई निर्धक्क भएर प्रहरीमा उजुरी लिएर आउन उनले आग्रह गरे। पीडकलाई कानुनी दायरामा ल्याउने चन्दले प्रतिबद्धता जनाए। जातकै आधारमा विभेद गर्नु अपराध भएको बताउँदै यस्ता गतिविधि गर्नेलाई कारबाही हुने उनले बताए।

पाल्पाकी सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जातीयताकै कारणले समाजमा अप्रिय घटना घट्नु दु:खद भएको बताइन्। मन्दिरमा प्रवेश नदिने, दलितको अस्तित्व नस्वीकार्ने, अन्तरजातीय विवाह गर्न नदिने खालका गतिविधि समाजमा हटेको छैन। समाजलाई सुन्दर बनाउन जातीय विभेद अन्त्य गर्नुपर्ने  रानाले बताइन्। तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पनि विभेद अन्त्य हुनुपर्ने बताए।

अधिवक्ता नारायण ज्ञवालीले निःशुल्क कानुनी सहायता केन्द्र अदालत परिसरभित्र रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.