काठमाडौं : स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि ३ दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ।
बोर्डका शाखा अधिकृत यशोदा अर्यालले स्वास्थ्य बिमामा आबद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेकी हुन्।
उनका अनुसार एक सय शय्यासम्मको अस्पतालले हप्तामा एक दिन, दुई सय शय्यासम्मको अस्पतालले हप्तामा दुई दिन र तीन सय शय्या वा सोभन्दा माथिका अस्पतालले हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्नेछ।
साथै सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डकी शाखा अधिकृत अर्यालले बताइन्। उनका अनुसार हाल बोर्डमा करिब ४४० अस्पताल आबद्ध छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।