स्थानीय तह भन्छ : प्राविधिक समस्या

|

काठमाडौँ : शिक्षा क्षेत्रको अधिकार पाएसँगै स्थानीय तहले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुको साटो ध्वस्त पार्दै गएको देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले सरकारी तथा निजी विद्यालयको सुधार, व्यवस्थापन, शुल्क निर्धारण र अनुगमन गर्ने जिम्मा पाएको छ।

तर स्थानीय तहको शिक्षा क्षेत्रमा मनपरी छ‚ प्रश्नपत्र निर्माणमा होस् या शुल्क निर्धारण लगायतका विषयमा होस्। अहिले देशभर धमाधम २०८० को वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। 

प्रश्नपत्र निर्माणमा स्थानीय तहको चरम लापरबाही पाइएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका कक्षा ६ र ७ को परीक्षाका लागि एउटै प्रश्नपत्र छ‚ प्रश्नपत्रको रङ भने फरक छ।

तारकेश्वर गाउँपालिकास्तरीय वार्षिक परीक्षा २०८० को कक्षा ६ को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षाको विषयको शुरुदेखि अन्तिमसम्मको सबै प्रश्न हुबहु छ। अहिले उक्त प्रश्नपत्र सामाजिक सञ्जालमा निकै भाइरल छ। 

यसैगरी डडेल्धुराको परशुराम नगरपालिकाको कक्षा ४ को सामाजिक र कक्षा ५ को सामाजिक विषयको पनि एउटै प्रश्नपत्र रहेको प्रश्नपत्र नै बाहिरिएको छ।
मकवानपुरको मनहरी गाउँपालिकाले (आधारभूत तह बिएलई परीक्षा) कक्षा ८ को नेपाली विषयको प्रश्नपत्रमा भने जताततै त्रुटि नै त्रुटि छ। सामान्य शब्दको ह्रस्व दीर्घ बिगारिएको छ। प्रश्नपत्र हेर्दा ५० शब्दभन्दा माथि नै बिगारिएको छ।

तेह्रथुमको शंकर माध्यमिक विद्यालयले भने कक्षा ६ को गणित विषयमा विभिन्न नेताहरूको नाम जोडेर हिसाब सोधिएको छ।

उक्त प्रश्नपत्र पनि नेताहरूको नजिक भएकै शिक्षकले बनाएको भन्दै आलोचना भइरहेको छ। प्रश्नपत्र निमार्णमा अहिलेमात्रै होइन। यसअघिका परीक्षामा पनि यस्ता कैयौँ त्रुटि फेला परेका थिए। 

प्रश्नपत्र छपाइको विषयमा के भन्छन् स्थानीय तह ?

मनहरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत प्रदीप पराजुलीले गल्ती भएको प्रश्नपत्र एक्स्ट्रा छापिएको प्रतिक्रिया दिए। उनले अगाडि भने गाउँपालिकाले उक्त प्रश्नपत्र नछापेको जिकिर गरेका थिए। पछि भने उनले छापिएको स्वीकार गरे।

यसमा प्राविधिक कमजोरी रहेको बताए तर त्यो प्रश्नपत्र परीक्षामा नबाँडिएको उनको भनाइ छ। ‘त्यो प्रश्नपत्र एक्स्ट्रा छापिएको हो, हामीले अर्कै प्रश्नपत्र बाँडेका छौँ, यो चाहिँ प्राविधिक कारण प्रेसमा गएको हो,’ उनले थाहाखबरसँग भने।

तारकेश्वर गाउँपालिकाका शिक्षा अधिकृत सिर्जना अर्याल भने प्रश्नपत्रको विषयमा बुझ्न खोज्दा पन्छिइन्। ‘मलाई होइन,परीक्षा समितिसँगै बुझ्नु’, भन्दै उनले फोन काटिन्।

परशुराम नगरपालिकाका शिक्षा अधिकृत लक्ष्मीकुमारी बिष्टले प्रश्नपत्र नगरपालिकाले नभई विद्यालयले नै छाप्ने गरेको बताइन्। ‘हामीले कक्षा ८ को प्रश्नपत्र मात्रै बनाउँछौँ, अरू सबै कक्षाको प्रश्न विद्यालयले नै बनाउने गरेका छन्, के भएको रहेछ हामी बुझ्छौँ’, उनले भनिन्।

प्रश्नपत्रको चर्को आलोचना

प्रश्नपत्रमा गम्भीर त्रुटि भेटिएपछि अहिले यसको चर्को आलोचना भएको छ। यसरी विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न नहुने माग पनि उठेको छ।

नेताहरूको नाम जोडेर प्रश्न बनाएपछि कतिपयले उक्त प्रश्न समय सान्दर्भिक भन्दै ठट्टा गरेर सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुलेली खेलाउने राम, श्याम, हरिहरू अमेरिका, अस्ट्रेलिया, जापान र खाडी मुलुक गए क्यारे अब गुलेली खेलाउने यिनै मात्र त बाँकी छन् नेपालमा।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.